• Tuesday 6th of October 2026

१३ वर्षमै धेरै चर्चा बटुलेर गएका सचिन परियार


  • धनकुटा खबर
  • .

बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।

गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए।
उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए।

उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ दिए। मुसुक्क मुस्काउँदै बेसुर तालमै गीत पनि गाए।
बिस्तारै सामाजिक सञ्जालमा सक्रिय दर्शकमाझ उनी चर्चित बने। उनको अनुहारको भावभंगी र जबाफ दिने शैली धेरैले रूचाए। बालसुलभ सचिन आफ्नो मौलिकपनका कारण भाइरल भए।

उनले बोलेका कुरामा चलेका कलाकारहरूले समेत टिकटक बनाए।
केही समयपछि उनी एकाएक चर्चित दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा देखिए। त्यहाँ उनले दोहोरी गाए। रमाइला कुराकानी गरे। उनको गीत र कुराले दर्शकलाई खुब मनोरञ्जन दियो।

पारिवारिक स्रोतका अनुसार भाइरल भइसकेका सचिनको परिवारको आर्थिक अवस्था राम्रो थिएन। त्यसैले उनको पढाइका लागि खर्च नभएको भन्दै परिवारले इन्द्रेणीसँग सम्पर्क बढायो। त्यसपछि सचिनले इन्द्रेणीमा प्रस्तुति दिए। चर्चा कमाए। इन्द्रेणी टिमले उनलाई पढाउने र राख्ने जिम्मा लियो।
सचिनलाई काठमाडौं ल्याउन पहल गर्ने मोहन बस्नेतले भने, ‘सचिन सानो कदकाठीका थिए। मीठो बोल्थे। गीत गाउनेसँगै कमेडी पनि गर्थे। बालसुलभ, निर्दोष र फुक्काफाल अभिव्यक्ति दिन्थे। त्यसैले उनलाई धेरैले मन पराए।’

इन्द्रेणीमा गीत गाएपछि उनले थप चर्चा पाए।
त्यसको केही महिनापछि सचिनको आफ्नै पहिलो गीत सार्वजनिक भयो। गीतको कभरमा लेखियो — भाइरल सचिन परियारको पहिलो गीत, ‘ओठ खोलेर’।

पहिलो गीत रातारात युट्युब ट्रेन्डिङमा उक्लियो। सचिन स्वयंलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको भिडिओ लाखौं हुँदै करोड पटक हेरियो।
त्यसपछि सचिनलाई अरू गीत गाउने प्रस्ताव आउन थाल्यो। भिडिओहरूमा खेल्न पनि बोलाइए। उनले ‘रातो रबर’ बोलको गीत गाए। भिडिओमा समेत देखिए।
सचिनले चर्चित गायक अस्मिता अधिकारीसँग ‘के छ हजुर’ बोलको गीत गाए। यसको भिडिओमा पनि देखिए।
त्यस्तै, रचना रिमालसँग ‘सेतो कपास’ बोलको गीत गाए, भिडिओमा पनि खेले।

राजु परियार र बीमाकुमारी दुरा जस्ता लोकदोहोरीका अग्रज गायक/गायिकासँग ‘दिदी भाइ’ बोलको तीज गीतमा पनि स्वर दिए।
सचिनलाई भिडिओमा अभिनय गराउन इच्छा राख्नेहरूको जमात पनि बढ्दै गयो। उनी गायक र ‘मोडल’ का रूपमा ‘हिट’ हुँदै गए।
त्यही क्रममा उनी गायन रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा पुगे। रमाइलो तरिकाले गीत गाए। थुप्रै लाइभ दोहोरी भिडिओमा समेत धमाधम देखिन थाले।

उनको यात्रा गायनमा मात्र सीमित रहेन, उनी अभिनयतिर पनि लागे। हास्य सिरियल ‘मेरी बास्सै’ मा सचिनले अभिनय गरे।
त्यसपछि सचिनको जीवनमा सुखद मोड आयो। उनले अभिनेता राजेश हमालसँग म्युजिक भिडिओमा काम गर्न पाए। ‘वरको छायाले’ बोलको गीतमा सचिनले राजेशसँग कम्मर मर्काउने अवसर पाएका थिए।
नौ वर्षको उमेरमा युट्युबबाट चर्चामा आएको छोटो समयमै सचिनले गीत गाउनेदेखि ‍अभिनय गर्नेसम्मको यात्रा तय गरे। गायन रियालिटी शोदेखि सिरियलमा पनि देखिए। दर्शकलाई आफ्नो प्रस्तुतिमार्फत हसाए, रमाइलो गराए।

यसरी सचिन १३ वर्षको उमेरमै धेरै चर्चा बटुलेर यो संसारबाट बिदा भए।
मोहन बस्नेतका अनुसार उनी पहिल्यैदेखि बिरामी थिए। १२ दिनअघि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। एनआइसियूमा उपचार गराइरहेका उनको बिहीबार बिहान निधन भएको हो।

सचिनका बुबा तेजेन्द्र परियारले केही दिनअघि एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा छोरालाई निमोनियाको समस्या भएको बताएका थिए।
उनको निधनमा थुप्रै कलाकार तथा दर्शकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फेसबुकमा लेखेका छन्, ‘बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जलि।’
गायक शिव परियारले पनि सचिनलाई श्रद्धाञ्जलि दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस्।’

गायिका प्रीति आलेले लेखेकी छन्, ‘चर्चामा पुग्दा खोसाखोस्, फेरि बिमार परेपछि दोषादोष। जे होस् तिमी निर्दोष थियौ। अद्भूत कला थियो तिमीमा। स्वर्गमा बास होस्।’

पछिल्लो समय सचिन र उनका बुबाको सम्बन्ध विवाद सामाजिक सञ्जालमा चर्चामा थियो। उनीहरूको घरायसी र निजी मामिला सार्वजनिक रूपमा यसरी उछाल्न नहुने भन्दै धेरैले टिप्पणी पनि गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖