• Tuesday 6th of October 2026

शल्यक्रिया गरेर सैफ अली खानको मेरुदण्डमा अड्किएको चक्कुको टुक्रा निकालियो


  • धनकुटा खबर
  • .

मुम्बई : बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २:३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ।

अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो। घटनापछि सैफलाई बिहान ३ बजे लीलावती अस्पताल लगिएको थियो।

लीलावती अस्पतालका सीओओ (प्रमुख सञ्चालन अधिकृत) डा. नीरज उत्तमानीले सैफलाई ६ ठाउँमा छुरा प्रहार गरिएको बताए। उनको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको उनले जनाएका छन्। शल्यक्रिया गरेर चक्कु निकालिएको छ। उनको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

मुम्बई प्रहरीका डीसीपी गेडाम दीक्षितले एक आक्रमणकारीको पहिचान भइसकेको बताएका सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो। घरमा कोही पनि जबरजस्ती पसेका छैनन्। सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖