नायक अनमोल केसीले एक महिना अगाडि १० लाख रुपैयाँको चेक लिएर निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा काम गर्ने बचन दिए । यो फिल्मको कथा नगरकोट पुगेर फाइनल गरिएको बताइएको छ ।
उनै, अनमोलले अन्तिम समयमा फिल्ममा काम नगर्ने बताएर आफूहरुलाई १ करोड भन्दा बढी क्षती पुगेको भन्दै सुदर्शन फिल्मस्की प्रमुख सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिइन् । प्रहरीमा सुप्रियाले दिएको उजुरीको आधारमा अनमोल शुक्रबार पक्राउ परे । हाल, उनलाई प्रहरीले काठमाडौंको चिरायू अस्पतालमा राखेर उपचार गराइरहेको छ । अनमोललाई शुक्रबार बेलुकी स्वास्थ्यमा समस्या भएपछि चिरायूमा लगिएको हो ।
अनमोल केसी भदौमा फिल्ममा काम गर्ने बचन दिएर असोजमा छायांकनका लागि तयार कसरी भए ? यो आफैमा अचम्म लाग्दो कुरा छ । किनकी, अनमोलले यस अगाडि साइन गरेका दुई फिल्म ‘जेरी अन टप र फर्कि फर्कि’का निर्माता उनलाई करिब १ बर्षदेखि पर्खिरहेका छन् ।
अनमोलले ‘जेरी अन टप’को छायांकन त बैशाखबाट नै गर्नुपर्ने हो । तर, विविध कारणले फिल्मको छायांकन भएन । निर्माता सरोज न्यौपाने भन्छन्–‘बरु, उजुरी त हामीले हाल्नुपर्ने थियो । तर, अनमोलले म अझै तयारी गर्छु भनेकाले एक करोड बढी रकम होल्ड भएर पनि हामीले पर्खियौं ।’
वुझिएअनुसार, यो फिल्मबाट अनमोलले १० लाख रुपैयाँ पेश्की रकम लिएर कागजी संझौता गरिसकेका छन् । यस्तै, निर्माता रोहित अधिकारीले अनमोललाई भदौमा यदि अनमोलको होम प्रोडक्शनको फिल्म ‘माइतीघर २’ वा अरु कुनैको छायांकन नभएको खण्डमा ‘फर्कि फर्कि’को छायांकन गर्नुपर्ने गरि कागजी संझौता गरिसकेका छन् । अनमोलले रोहितसँग २२ लाख रुपैयाँ वुझिसकेका छन् ।
तर, भदौमा फिल्म ‘रावायण’को छायांकन गर्ने भन्दै अनमोलका पिता भुवन केसीले रोहितलाई ‘फर्कि फर्कि’को छायांकन कार्तिकमा गर्न आग्रह गरे । रोहितले भुवनको कुरा सहजै स्विकार गरे ।
दुई फिल्मका लागि वितरकले पनि राम्रो रकम खर्च गरिसकेका छन् । ‘जेरी अन टप’का वितरक गोविन्द शाहीले आफूले फिल्मका लागि ५० लाख खर्च गरिसकेको बताउँछन् । यसरीहेर्दा, अनमोलले ‘फर्कि फर्कि र जेरी अन टप’मा समय दिएको करिब एक बर्ष भैसक्यो । तर, उनले अझै यी दुई फिल्मका लागि समय दिन सकेका छैनन् ।
यता, एक महिना अगाडि साइन गरेको फिल्म ‘रावायण’को छायांकनमा आलटाल गरेको भन्दै यसको निर्माणपक्षले प्रहरीमा उजुरी दियो र अनमोल पक्राउ परेका छन् । अब, अनमोलको मुद्दामा भोली अदालतको आदेश के आउँछ, सबैले प्रतिक्षा गरिरहेका छन् । -मेरो फिल्मबाट
