• Monday 2nd of November 2026

क्रान्तिकारीको विवाद: तत्काल मतगणना सुरु गर्न तीन उम्मेदवारको माग, रातोलाई मात्रै सदर गर्नुपर्ने अडान कायमै


  • धनकुटा खबर
  • .

काठमाडौं । अखिल क्रान्तिकारीको रोकिएको मतगणना तत्काल सुचारु गर्न अध्यक्षका तीन उम्मेदवारले माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्षका तीन उम्मेदवार हेमन्त राई, सुदीन पौडेल र उपदेश यादवले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् ।

उनीहरुले मतदान भएको बाल्मीकि क्याम्पसमा नै मतगणना हुनुपर्ने माग गरेका हुन् ।

उनीहरुले बाँकी विषय थाँती राख्दै मतदानपश्चात बाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे संयुक्त सुझाव पनि दिएका छन् ।

रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको रातो मसी कलमद्वारा रेजा लगाइएको मतमात्र गणना गरिनुपर्ने र रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने माग उनीहरुको छ ।

गैरभौगोलिक २ प्रदेश विश्वविद्यालय र विशेष प्रदेश अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध छ।

मतपत्रमा रेजा लगाउँदा रातो मसी मात्र प्रयोग हुनुपर्नेमा कालो मसी पनि प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिबीच विवाद भएको हो।

क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।

यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।

अहिलेसम्म प्राप्त नतिजा अनुसार सापकोटा २० मतले अघि छन् । सापकोटाले ४८१ मत पाउँदा राईले ४६१ मत पाएका छन् । अब विश्वविद्यालय तथा उपत्यका प्रदेशको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖