• Monday 5th of October 2026

के चिसोमा लगातार अदुवा चिया पिइरहनु भएको छ? गर्न सक्छ यति गम्भीर असर


  • धनकुटा खबर
  • .

तपाईंलाई पक्कै थाहा छ, अदुवा स्वास्थ्यका लागि फाइदाजनक हो । यसको स्वाद र बास्ना पनि बेग्लै हुन्छ । अन्य बेलाको तुलनामा चिसो मौसममा मानिसहरू अदुवा मिसाएको चिया बढी पिउने गर्छन् । तपाईंले पनि अदुवा चिया पिउने गर्नुभएकै होला ।

तर, नेपालमा एउटा भनाइ नि,‘अति भए खति हुन्छ ।’ कुनै पनि चीजको अति जहिल्यै हानिकारक हुन्छ। यदि तपाईं बारम्बार अदुवा कुटेर चियामा राख्दै पिउनुहुन्छ भने यसले तपाईंको समग्र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यसले तपाईंलाई पेटमा जलन, छाती पोल्ने, पखाला, ग्यास र पेट दुख्ने समस्याहरू निम्त्याउन सक्छ।

२०१९ मा गरिएको एक अध्ययनले के देखाउँछ?
सन् २०१९ को एउटा अनुसन्धानले अदुवाको धेरै सेवनले शरीरमा नकारात्मक असर गर्न सक्ने कुरा देखाएको छ। अदुवा भएको चिया धेरै पिउँदा छातीमा जलनको कारणले छातीको तल्लो भागमा पोल्ने महसुस हुन सक्छ। शरीरले प्रतिदिन १ ग्रामभन्दा बढी अदुवा पचाउन गाह्रो मान्छ।

अदुवा चिया र खानामा अधिक प्रयोगले निम्त्याउने समस्याहरू

१. पेटमा जलन
अदुवाले शरीरलाई ताप प्रदान गर्छ, तर यसको अत्यधिक सेवनले पेटमा जलन, एसिडको उत्पादन, ग्यास र कब्जियतजस्ता समस्याहरू निम्त्याउन सक्छ। तर, यदि सन्तुलित मात्रामा अदुवा प्रयोग गरियो भने यसले पेट फुल्ने समस्या कम गर्न सक्छ।

२. रगत जम्न (ब्लड क्लोटिङ) मा असर
अदुवामा यस्ता गुण हुन्छन्, जसले रगतलाई पातलो बनाउन सक्छ। तर, यसको धेरै प्रयोगले रगत जम्ने प्रक्रियालाई असर पुर्‍याउन सक्छ। रगत पातलो बनाउने औषधि लिइरहेका व्यक्तिहरूलाई यसको अधिक सेवनले थप समस्या दिन सक्छ।

३. रगतमा चिनीको मात्रा घट्न सक्छ
अदुवाको अत्यधिक सेवनले इन्सुलिनको स्तरमा बाधा पुर्‍याएर रगतमा चिनीको स्तर अचानक घटाउन सक्छ। यसले शरीरमा कमजोरी र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

४. मुखमा घाउ
धेरै अदुवा खाँदा मुखमा घाउ पर्ने समस्या हुन सक्छ। त्यसैले अदुवाको सेवन सीमित मात्रामा गर्नुपर्छ। अदुवा स्वास्थ्यका लागि लाभदायक भए पनि यसलाई सन्तुलित मात्रामा मात्र प्रयोग गर्नुहोस्। जति सकिन्छ, चिया वा खानामा यसको अत्यधिक प्रयोगबाट बच्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖