• Tuesday 6th of October 2026

सेनाको जागिर छाडेर सार्वजनिक स्कुल सुधार्न हिँडेकी गीता


  • धनकुटा खबर
  • .

अस्तव्यस्त सार्वजनिक स्कुल कसरी सुधार्ने?
संसारभरिका विज्ञहरूले अनेक उपाय सुझाउलान्। गीता रानी भने आफ्नै तरिका अपनाउँछिन्।

सैनिक सेवाको उच्च पदमा जागिर खाइरहेकी उनी एकाएक अवकाश लिन्छिन्। सेनामा काबिल मानिएकी गीता रानीको यस्तो निर्णय सुनेर वरिष्ठ अधिकारीले उनलाई रोक्न पनि खोज्छन्। गीता मान्दिनन्।
अनेक अवसर भए पनि उनी भन्छिन् — मलाई त्यही गाउँको त्यही स्कुलमा प्रधानाध्यापक हुनुछ।
उनले किन यो स्कुल रोजेकी हुन्, कसैलाई भन्दिनन्।

प्रधानाध्यापक भएर गएको पहिलो दिन गाउँको सरकारी स्कुलको हालत उनी नियाल्छिन्। गाउँभरिको फोहोर फ्याँक्ने थलो। भत्केका भित्ता, पर्खाल र गेट। न सफा खानेपानी, न शौचालय। मनमौजी विद्यार्थी र शिक्षकहरू।
विद्यार्थीहरूको आउने-जाने टुंगो छैन। मनलाग्दी पारामा आउँछन्, पर्खाल नाघेर निस्किन्छन्। सँगै भएको पसलमा किनेर धूमपान र सूर्ति सेवन गर्छन्। झैझगडामा सामेल भइरहन्छन्। न सरसफाइ न स्कुलको पोसाक। गरिब विद्यार्थीहरू धेरै भएकाले बेलाबखत स्थानीय कारखाना मालिकहरूले मजदुरी गर्न जबर्जस्ती उठाएर लैजान्छन् पनि। त्यसैले धेरैको पढाइ बीचमै छुट्छ।

शिक्षकहरू उस्तै छन्। कोही हाजिर गरेर पसल चलाउन पुग्छन्। कोही स्कुलमै बसेर निजी काम सक्छन्। कोही जागिर पचाउन मात्र आउँछन्। पुरूष शिक्षकहरू महिला शिक्षक र छात्राहरूलाई दुर्व्यवहार गर्छन्। उपप्रधानाध्यापक अरू शिक्षकलाई आफ्नो निजी काम अह्राउँछन्। अरूलाई हेप्ने, होच्याउने र घुस खान तम्तयार यहाँका शिक्षकको विशेषता हो।
समग्रमा यो नाम मात्रको स्कुल हो। पढाइसँग विद्यार्थी र शिक्षकको कुनै नाता छैन।

यस्तो स्कुलमा प्रधानाध्यापक भएर आइपुगेकी हुन्छिन् हठी स्वभावकी पूर्वसैनिक गीता रानी। त्यो पनि आफै रोजेर।

गाउँमा स्थानीय सांसद र निजी स्कुल चलाउने गुन्डाहरूको आफ्नै बोलबाला हुन्छ। स्कुलका सबै शिक्षक उनीहरूकै गुनगान गाउँछन्। जब गीताको आगमन हुन्छ, यसले पूरै गाउँमा हंगामा मच्चाउँछ।

गीताले एकएक गरी सबै विद्यार्थी र शिक्षकलाई सुधार्ने प्रयास गर्छिन्। सम्झाउँछिन्। धम्काउँछिन्। चेतावनी दिन्छिन्। आफूलाई हातपात गर्न आउनेलाई पिटेरै पठाइदिन्छिन्। सैनिक सेवामा तालिम दिने अधिकारीका रूपमा काम गरेकी उनले स्कुललाई पनि तालिम मैदानभन्दा कम बनाउँदिनन्।

निरन्तर उनको खटाइले स्कुल साँच्चै फेरिन्छ। विद्यार्थी, केही शिक्षक र अभिभावकहरू पनि बदलिन बाध्य हुन्छन्।

उनको यो बानी-व्यवहार थोरैलाई मात्र चित्त बुझ्छ। त्यसमा पनि अधिकांश डरले मात्र उनको कुरा मान्छन्। उनका दुश्मनहरू बढ्दै जान्छन्। स्कुलको नाममा वर्षौंदेखि रकम पचाउनेदेखि स्कुल सुधारिएको हेर्न नचाहनेसम्मका लागि उनी आँखाको तारो बन्छिन्।

अनि सुरू हुन्छ उनीमाथि षड्यन्त्र। दुश्मनहरूले लगातार उनलाई गिराउने काम गरिरहन्छन्। उनले गरेका केही निर्णयलाई लिएर हंगामा खडा गर्छन्। सानातिना बाधा सिर्जना गरिरहन्छन्।

एक दिन यस्तो आइपर्छ जब उनीहरूले गीतालाई ठूलै समस्यामा पार्छन्। उनले गरेको एउटा निर्णयलाई लिएर षड्यन्त्रपूर्वक उनलाई फसाइन्छ।
त्यसपछि गीताको के हुन्छ?

सेनाको जागिर छाडेर प्रधानाध्यापक हुन आएकी गीताको समस्या सुल्झेला? गाउँमा एक्लै परेकी उनलाई कसले साथ देला? उनी आखिर यहाँ किन आएकी हुन्छिन्?

यी सबै जान्न दक्षिण भारतीय फिल्म ‘रातचासी’ हेर्नुहोला। युट्युबमा यो फिल्म हिन्दी भाषामा ‘म्याडम गीता रानी’ नाममा उपलब्ध छ। सन् २०१९ मा रिलिज तमिल फिल्म रातचासी सैयद गोथमराजको लेखन र निर्देशनमा बनेको हो।

आधा दर्जनभन्दा बढी अवार्ड जित्न सफल यो फिल्मले मलेसियामा पनि खुबै चर्चा पाएको थियो। त्यहाँका शिक्षामन्त्रीले समेत फिल्मको तारिफ गरेका थिए। उनले आफ्ना अधिकारीहरूसँगै बसेर यो फिल्म हेरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖