एजेन्सी । अमेरिकाले आप्रवासी फिर्ता पठाउँदा अमानवीय व्यवहार गरेको भन्दै भारतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएका छन्।
बुधबार अमेरिकाले अवैध रूपमा त्यहाँ बसिरहेका १०४ जना भारतीय आप्रवासीहरूलाई सेनाको जहाजमा हालेर फिर्ता गरेको थियो। अवैध आप्रवासी बोकेको अमेरिकी सेनाको जहाज बुधबार भारतको अमृतसरमा अवतरण भएको थियो।
जहाजमा ल्याइएका आप्रवासीहरूमाथि अमानवीय र अपराधीसरह व्यवहार गरेको भन्दै त्यसको भोलिपल्टदेखि नै भारतमा ट्रम्पको विरोध सुरू भएको हो।
ती आप्रवासीहरूलाई हतकडी लगाइएको थियो भने खुट्टामा समेत नेल लगाइएको थियो। अमेरिकी सञ्चारमाध्यम सिएनएनले प्रसारण गरेको भिडिओमा भारतीय आप्रवासीहरू हात खुट्टा बाँधिएको अवस्थामा जहाजतर्फ लागेको देखाइएको छ।
भिडिओमा २३ वर्षीय आकाशदीप सिंहले ४० घन्टाको उडानको समयभरि त्यसरी नै आफूहरूमाथि हतकडी र खुट्टामा नेल बाँधिएको बताएका छन्।।
‘महिलाहरूमाथि पनि त्यस्तै व्यवहार भयो। ४० घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाइयो। खाने बेलामा र बाथरूम जाँदा पनि खोलिएन,’ सिएनएनको उक्त भिडिओमा आकाशदीपले भनेका छन्।
फ्लाइटमा कैयौंले हतकडी खोल्न सेनासँग अनुरोध गरेका थिए। तर उनीहरूले सुनेकानसुन्यै गरेको आकाशदीप बताउँछन्।
‘हामीलाई उनीहरूले यसरी हेर्थे त्यो जीवनभर बिर्सन सकिँदैन। हातमा हतकडी र खुट्टामा सिक्रीले बाँधेकै अवस्थामा कष्टपूर्ण तरिकाले बाथरूम गयौं,’ उनले भिडिओमा भनेका छन्।
