लोकप्रिय गायिका एलिना चौहानले आफ्ना पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबूकमा भावुक स्ट्याटस लेखेकी छन् ।
कानूनी रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको घोषणा गर्दै विवाहका प्रतीकहरू (सिन्दुर, चुरा, लगनगाँठो) अझै उस्तै रहे पनि सम्बन्धको आत्मिक पक्ष भने बाँकी नरहेको उनले बताएकी छिन् ।
एलिनाले लेखेकी छन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तर विवाह सिन्दुर, लगनगाँठो, विवाह दर्ता वा शारीरिक सम्बन्ध मात्र रहेनछ, मुख्य प्राण त आपसी विश्वास र समझदारी नै रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ ।’
स्ट्याटसमा बाध्यताका कारण सम्बन्ध टुंगिएको उल्लेख गरे पनि त्यसको कारण भने खुलाइएको छैन ।
अन्त्यमा उनले पूर्वपति विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफ्नो तर्फबाट पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको जनाएकी छन् ।
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)ू
