• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुधार केन्द्रमा मुर्गा बन्न नमान्दा कुटेर युवकको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । बाराको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा परामर्शदातासहितको कुटपिटकै कारण एक युवकको मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ।

दुई सातादेखि सुधार केन्द्रमा भर्ना भएका कलैया–९ का ३७ वर्षीय धीरेन्द्र (प्रदीपप्रसाद मण्डल) को विहिबार राति मृत्यु भएको थियो। अनुसन्धानका क्रममा परामर्शदातासहितका कर्मचारीले सामुहिक रुपमा कुटपिट गरेको र त्यसैका कारण उनको मृत्यु भएको खुलेको हो।

अनुशासन भंग गरेको भन्दै मण्डललाई शारीरिक सजाय दिन (मुर्गा बनाउन) खोजिएको थियो। तर, उनले त्यसलाई अस्वीकार नगर्दा केन्द्रका परामर्शदातासहित टोलीको सामूहिक कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार मण्डलमाथि बिहीबार मध्यराति कुटपिट गरिएको थियो। मध्यरातमा कोठाभित्र मुक्का र लात्तीले कुटपिट गरिएको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ।

फुटेज प्रहरीले सुरक्षित राखेको छ। भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर सामूहिक रुपमा कुटपिट गरिएको दृश्य देखिन्छ।

कुटपिटपछि अचेत बनेका मण्डललाई केन्द्रका परामर्शदाताले उपचारका लागि सुरुमा कलैया सिटी अस्पताल लगेका थिए। त्यहाँबाट रिफर गरेपछि कलैया प्रादेशिक अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो।

पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमतिसमेत नलिएको खुलेको छ। सञ्चालकका भाइ तमन्ना मन्सुरले नै यो विषयमा प्रहरीलाई बयान दिएका छन्। पुनःस्थापना केन्द्रका संचालक कलैया–३ का साहेबबाबु मन्सुर सम्पर्कविहीन छन्।

प्रहरीले तमन्नासहित वडा नं. –१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा–२ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा–४ का २२ वर्षीय निरज सर्राफ र वडा–६ का २० वर्षीय महम्मद आँसु मियाँलाई पक्राउ गरी कर्तव्यज्यान कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖