• Sunday 1st of November 2026

‘गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै प्युठानमा मागेको माफीलाई लिएर राष्ट्रिय जनमोर्चाले बनावटीको संज्ञा दिएको छ।

पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले आज एउटा लामो विज्ञप्ति जारी गर्दै तत्कालीन निर्वाचनमा कांग्रेसको एउटा पक्षले जनमोर्चाका उम्मेदवारलाई हराएको पनि आरोप लगाइन् ।

कांग्रेस महामन्त्री थापाले गत निर्वाचनमा राष्ट्रिय जनमोर्चाको चुनाव चिह्नमा मत हाल्न लगाइएको भन्दै प्युठानका नेता–कार्यकर्तासँग सोमबार माफी मागेका थिए ।

कांग्रेस प्युठानको जिल्ला सम्मेलन सम्बोधनका क्रममा थापाले गत निर्वाचनमा चुनावी गठबन्धन गरेर कांग्रेसका कार्यकर्तालाई रूख चिह्नमा मत हाल्नबाट वञ्चित गरिएकोप्रति माफी मागेका हुन् ।

थापाको उक्त अभिव्यक्तिलाई लिएर जनमोर्चाले आज विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा धेरै ठाउँमा थापाकै चुनावी गतिविधिबारे लेखिएको छ।

‘गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नै भोट हाल्न लगाएर आफ्नै पार्टीका उम्मेदवारलाई हराएको विषयमा उनले माफी माग्दछन् ?’ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमेरिकी परस्त उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ- त्यसरी चितवनमा अमेरिकापरस्त स्वतन्त्र पार्टीलाई भोट हाल्न लगाएर काठमाडौँमा उनको विरुद्धको (गगन थापा विरुद्धको) राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई फिर्ता गर्न लगाएको उदाहरण पनि हाम्रा अगाडि छ ।’

त्यो बेला (२०७९ निर्वाचन) कांग्रेसकै प्रतिपक्षले आफ्नै पार्टीको स्वीकृत नीति तथा चुनावी तालमेल समेतको विरोध गरेर प्युठानमा चुनावी तालमेल भएका राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समेत हराउने नीति अपनाएका पौडेलले विज्ञप्तिमार्फत आरोप पनि लगाएकी छन्।

उक्त निर्वाचनमा गठबन्धनकी उम्मेदवार पौडेललाई हराउँदै नेकपा एमालेका सूर्य थापा विजयी भएका थिए।

त्यसवेला कांग्रेसँगको पाँचदलीय गठबन्धन ओलीविरुद्ध भएको र आफ्नो पार्टीले देशको राजनीतिक आवश्यकताअनुसार कार्यगत एकता वा गठबन्धन गरेको भन्दै उनले भविष्यमा पनि देशको राजनीतिक आवश्यकताअनुसार कार्यगत एकता गर्ने नीति पार्टीले राखेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖