काठमाडौं – सरकारको सांसद खरिद बिक्री काण्ड बाहिरिएको छ । भूमि अध्यादेश पास गराउन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रति सांसद ५ देखि १० करोड रुपैयाँको खर्च गरेको खुलेको छ । जनता समाजवादी पार्टी, नेपालकी नेतृ रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न राष्ट्रिय सभाका सांसदलाई ५ करोडदेखि १० करोडसम्म अफर आएको खुलासा गरेकी हुन् ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले सरकारको रणनीतिबारे कटाक्ष गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । सत्तापक्षले आफ्नो अस्तित्व जोगाउन सांसद किन्ने खेलमा लागेको छ।
राष्ट्रिय सभामा बहुमत नपुगेका कारण सरकारले अध्यादेश पारित गराउन जसपा नेपालका सांसदहरूलाई समेत प्रभावित गर्न खोजिरहेको उनको दाबी छ। जसपाका तीन जना सांसदको समर्थनबिना भूमि अध्यादेश पास हुन नसक्ने भएकाले सरकारले दल विभाजनको बाटोसमेत लिन सक्ने उनको आशंका छ।
यादवले भूमि अध्यादेश जनताको हितविपरीत रहेको बताउँदै यसलाई जसपाले कुनै पनि हालतमा पास हुन नदिने दाबी गरिन्। उनका अनुसार, सरकारलाई समर्थन गरेको दल भन्दैमा जसपाले अनैतिक निर्णयहरूमा साथ दिने छैन। अन्य पाँच अध्यादेशमा पनि समर्थनका लागि सरकारलाई हाम्रो सर्त स्पष्ट छ – भूमि अध्यादेश फिर्ता लिनैपर्छ, ‘उनले भनिन्।
