वासिङ्टन डीसी । गत हप्ता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको झगडा सारा संसारले हेर्याे । यस बैठकमा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई कडा शब्दमा हप्काएका थिए ।
ट्रम्पलाई भेट्नुभन्दा केही घण्टा अगाडि जेलेन्स्कीलाई यस सम्बन्धमा चेतावनी दिइएको भए पनि जेलेन्स्कीले यो सल्लाहलाई हल्का लिए । त्यसको परिणाम सारा संसारले देख्यो ।
अमेरिकी मिडियाका अनुसार दक्षिण क्यारोलिनाका रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहमले ट्रम्पसँगको भेटभन्दा केही घण्टा अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई कुराकानीका क्रममा कुनै यस्तो मुद्दा उठ्यो, जहाँ उनले आलोचनाको सामना गर्नुपर्यो भने यस्तोमा प्रतिक्रिया नदिन जेलेन्स्कीलाई सल्लाह दिएका थिए ।
ग्राहमले जेलेन्स्कीलाई ट्रम्पले उनलाई उक्साए वा भड्काए भने संयमित भएर परिस्थितिलाई सम्हाल्न भनेका थिए । तर, सल्लाह पाए पनि युक्रेनी राष्ट्रपतिले गल्ती गरे र बैठकमा भनाभन भयो । त्यसपछि वार्ता ट्र्याकबाट बाहिर गयो ।
सल्लाह मानेको भए टर्थ्यो त विवाद ?
ट्रम्पले बारम्बार युक्रेनले मस्कोसँग शान्ति सम्झौतासहित वार्ता गर्नुपर्छ भनेर जोड दिँदै आएका थिए । तर, युक्रेन र यसका युरोपेली सहयोगीहरू यसप्रति असहज थिए । यसलाई लिएर ट्रम्प खुसी थिएनन् ।
जब जेलेन्स्की वार्ताका लागि ओभल अफिसमा आइपुगे, ट्रम्पले सुरुमा जेलेन्स्कीको पहिरनबारे मजाक गर्दै ‘तिमी पूर्ण तयारी गरेर आएका छौ’ भने त्यतिबेला जेलेन्स्कीले परिस्थितिलाई सम्हालेर मुस्कुराए मात्रै ।
त्यसपछि बैठक सुरु भयो । सबै कुरा ठिकठाक चलिरहेको थियो र दुई नेताबिचको कुराकानी एकदमै विनम्रतापूर्वक चलिरहेको थियो ।
यसैबिच उपराष्ट्रपति जेडी भान्स कुराकानीमा सामेल भए र युक्रेनी नेतालाई अमेरिकी सहयोगको कदर नगरेको आरोप लगाए अनि युक्रेनी कूटनीतिमाथि प्रश्न उठाए । यहाँ जेलेन्स्कीले गल्ती गरे ।
उनले जेडी भान्सलाई जवाफ दिँदै ‘कस्तो खालको कूटनीति, जेडी ?’ भनेर भने । भान्सले जेलेन्स्कीको यो भनाइलाई प्रत्यक्ष चुनौतीको रूपमा लिए उनलाई अमेरिकी राष्ट्रपतिको अनादर गरेको आरोप लगाए ।
यसपछि ट्रम्प पनि आक्रामक बने र जेलेन्स्कीलाई सुनाए । तनावले त्यतिखेर चरम पार गर्यो जतिबेला जेलेन्स्कीले रुसी आक्रमणले अमेरिकालाई पनि दीर्घकालीन खतरा निम्त्याउने चेतावनी दिए ।
‘तपाईंसँग टन्नै समुद्र छ र पनि तपाईंले अहिले खतरा महसुस गर्नुभएन, तर भविष्यमा तपाईंले यो महसुस गर्नुहुनेछ,’ जेलेन्स्कीले भने । जेलेन्स्कीले यति भन्नु ट्रम्पको लागि पर्याप्त थियो र उनले जेलेन्स्कीमाथि शब्दवाण हानिरहे अनि अचानक बैठक समाप्त गरे ।
