काठमाडौं– नेपालमा राजनीति र अभियान निक्कै पेचिलो बन्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्ने चर्चा गरेका अभियन्ता दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको बताएका छन्।
राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रचण्डले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाए। माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईंले अब प्रचण्डलाई नै रछ्यानमुनी फाल्ने दावी गरे।
आफैंले २० वर्ष सहयोग प्रचण्डलाई सहयोग गरेको बताएका प्रसाईंले भने,‘हामीले डडाल्नामा प्रेसर कुरक बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे? स्वीटरजल्याण्डमा घर किन्थे? प्रधानमन्त्री हुन्थे?’
उनले कुनचाहिँ नातिनीका लागि घर किनिदिएको भन्नेचाहिँ खुलाएका छैनन्। प्रचण्डका चार नातिनी छन्। ज्ञानुका दुई र हाल सक्रिय रहेकी गंगाका दुई छोरी रहेका छन्।
यसअघि प्रसाईंले काठमाडौंको ढोलाहिटीमा छोरी गंगा दाहालको घर किन्दिदा आफूले सहयोग गरेको बताएका थिए।
पत्रकार सम्मेलनभरी विभिन्न नेता र पत्रकार तथा लेखकहरुको उछितो काढेका प्रसाईंले फागुन २५ गते काठमाडौं ठप्प बनाएर अन्तिम राजाको स्वागत गरिने बताए।
