• Saturday 31st of October 2026

पञ्चायतविरुद्ध हामी सल्बलायौं, अहिले राजावादी सल्बलाउनु स्वभाविक होः कांग्रेस नेता विश्वकर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्वमन्त्री मिन विश्वकर्माले राजावादीहरु सल्बलाउनेलाई स्वभाविक मान्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा पञ्चायतविरुद्ध आफूहरु सल्बलाएको र त्यसपछि एकदलीय व्यवस्था ल्याउन माओवादी सल्बलाएको उनले बताए । सोहीअनुसार अहिले राजावादीहरु सल्बलाउनुलाई अन्यथा मान्न नहुने उनले बताए ।

‘सल्बलाउने कुरा स्वभाविक हो । हिजो पञ्चायती व्यवस्था थियो, हामीहरु सल्बलायौं । हामीले जनताको भावनाअनुसार राजालाई संवैधानिक बनाायौं र जनताको अधिकार लियौं । फेरि त्यहीबेला माओवादीहरु सल्बलाए, उनीहरुले एक दलीय व्यवस्था ल्याउँछौं भने । एक दलीय व्यवस्था ल्याउँछौं भन्नेहरुले ११ वर्षमा पनि एक दलीय व्यवस्था ल्याउन सकेनन् । अन्त्यमा कांग्रेसलगायत संसदीय दलसँग मिले । अन्तिममा राजा हटाएर एकदलीय व्यवस्था होईन, निर्दलीय पनि होईन । बहुदलीय व्यवस्थामा हामीले सहमति गर्यौं,’– उनले भने ।

साथै, अब राजासंस्था पुनर्स्थापनाको सम्भावना भने कहीँकतै नरहेको उनको दाबी छ । स्वतन्त्र भइसकेका जनताले निरङ्कुश, तानाशाही, वंशवादी शासकलाई स्वीकार नगर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘जनतालाई पटक–पटक दुःख दिने, जनताको अधिकार कटौती गर्ने, अन्याय, अत्याचार र विभेदका आधारमा शासन गर्न समाएका, निरङ्कुश, तानाशाही, वंशवादी शासन प्रणालीका नाइके राजा फेरि सल्बलाउँछन् भने त्यसलाई जनताले राम्रोसँग बुझेका छन् । राजाले चाहने व्यवस्था भनेको नागरिकको व्यवस्था होईन, वंशको व्यवस्था, एक परिवारको व्यवस्था हो । नेपालमा मात्रै होईन, विश्वमा कहीँ पनि स्वतन्त्र भइसकेका नागरिकले कोही वंशवादी व्यक्ति सल्बलायो भनेर त्यसको पछि डौडेर अर्को गल्ती गर्छन् जस्तो लाग्दैन ।’

पूर्वराजा ज्ञानेन्द्रलाई सत्तामा बस्न मन लागेको भए अहिलेको संविधानमा टेकेर दल खोलेर प्रतिस्पर्धामा आउन उनले सुझाव दिए । प्राचीन कालकै निरङ्कुश राजा बन्ने सपना नदेख्न उनले चेतावनी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖