शुक्रबार अमेरिकास्थित जोइन्ट बेस एन्ड्रुजमा पत्रकारसँगको कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अप्रत्याशित घटनाको सामना गर्नुपर्यो । जुन यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ट्रम्पले पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका बेला एउटा लामो माइक्रोफोन जोडिएको बुम अचानक उनको मुखमा ठोक्किन पुग्यो ।
त्यसपछि ट्रम्पले सहजै पछाडि झुके र आँखा बन्द गरे । अनि, आश्चर्यचकित हुँदै पत्रकारलाई तीखो नजरले हेरे ।
‘यी पत्रकार आज आफैं समाचार बन्ने भइन्’, ट्रम्पले क्यामेरातिर हेर्दै भने, ‘के तपाईंले मेरो मुखमा बम झोसेको देख्नुभयो ?’
ट्रम्पको अनुहारमा बुम झोस्ने पत्रकार को हुन् भन्ने अझै स्पष्ट नभएको डेलीमेलले लेखेको छ ।
त्यो भिडियो तुरुन्तै सामाजिक सञ्जालभरि भाइरल भयो र विभिन्न प्रतिक्रियाहरू आए । एक एक्स प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई त्यो जानीजानी गरिएको जस्तो लाग्यो, यो त्यस्तो दुर्घटना हो जसले तपाईंलाई नोकरीबाट निकाल्न सक्छ । यसले कति सजिलै ट्रम्पमाथि आक्रमण गर्न सकिन्छ भन्ने पनि देखाउँछ ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘ट्रम्पको त्यो हेराइले उनलाई जीवनभरि डर लाग्नेछ ।’
भिडियो शेयर गर्ने एक पत्रकारले सुरक्षा कमजोरीबारे प्रश्न उठाउँदै लेखेका छन्, ‘पत्रकारले कसरी त्यो बुम माइक्रोफोन ट्रम्पको अनुहार नजिकै पुर्याए ? यो सही छैन । सुरक्षा कडा पार्नुपर्छ । यो प्रेसका लागि लज्जास्पद कुरा हो ।’
