• Tuesday 6th of October 2026

काममा ‘टर्चर’ कि ‘प्रोफेसनल गड्बडी’? सुसाइड नोट र अपचलनको बीचमा बेपत्ता बैंक कर्मचारी


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका हेटौंडा शाखामा कार्यरत निराजन देवकोटा असोज १५ गते त्रिशूलीमा फाल हालेर बेपत्ता भएपछि सनसनीपूर्ण खबर बाहिरियो – काममा ‘अनावश्यक टर्चर’ भएपछि आत्महत्या गर्न बाध्य भएको ‘सुसाइड नोट’ लाई लिएर।

तर उनले बैंकमा गरेका गतिविधिका तथ्यले उनको ‘सुसाइड नोट’भन्दा केही फरक तथ्य बोल्छ। ‘वित्तीय अनुशासन’सँग जोडिएको उनको सन्दर्भ र सुसाइड नोट परस्परविरोधी देखिन्छ।

निराजनको वित्तीय अनुशासनसँग जोडिएको कथाको एक पात्र हुन् प्रेमकुमार घिमिरे।

घिमिरे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘खराब’ ऋणी हुन्। उनी पहिले मेगा बैंकका ऋणी थिए। मर्जरसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ऋणीमा परिणत भए उनी। घिमिरेले हेटौंडा शाखालाई गएको असोज १२ गते एउटा निवेदन बुझाए। त्यो निवेदन निराजनले लेखेको ‘नोट’भन्दा उल्टो देखिन्छ।

बैंकर देवकोटाले ‘वित्तीय अपचलन’को गम्भीर आरोप छ घिमिरेको पत्रमा। ‘खराब ऋणी’लाई लोन मिलाउने नाममा दुईपटक गरेर १३ लाख रुपैयाँ लिएर पनि ‘धोका दिएको’ गम्भीर आरोप छ पत्रमा। दोस्रो पटक निराजनको प्रभु बैंकमा रहेको खातामा चपुरबाट दिलबहादुर योन्जनबाट १० लाख रुपैयाँ बुझाएको दाबी घिमिरेले निवेदनमा उल्लेख गरेका छन्। त्यसबाहेकका अन्य कारोबारमा पनि ‘धोका’ दिएको उनको पत्रमा उल्लेख छ।

‘घर बनाउँदा गिट्टी बालुवा लिएर घर सम्पन्न गरेर पैसा पनि नदिएर अहिले आएर हामीसँग पैसा तथा सामान लिएको छैन भनी हामीलाई नै उल्टो गाली गलौच गर्ने, धम्की दिने समेत गर्ने गरेका छन्,’ निवेदनमा भनिएको छ, ‘देवकोटाको खातामा सो रकम आएको छ कि छैन भनी निज निराजन देवकोटाको बैंक स्टेटमेन्ट चेक जाँच गरी मसँग लिएको सामानको समेत रकम दिलाई भराई पाउँ भनी निवेदन गर्न आएको छु।’

त्यसो त घिमिरेले उनीविरुद्ध गरेको यो पहिलो उजुरी थिएन। अरु केही उजुरीलाई लिएर बैंकले छानबिन गर्न केन्द्रबाटै कर्मचारी हेटौंडा पठाएको थियो।

मर्जरअघि इन्भेष्टमेन्टको हेटौंडामा एउटा र मेगाको दुई वटा शाखा थियो। मर्जरपछि एउटामा झारियो। त्यसपछि देवकोटा शाखाको प्रबन्धकबाट सेकेन्ड म्यानमा झरे। त्यसपछि नै हो वित्तीय अपचलनका घटना बाहिरिन थालेको।

घिमिरेको सवालमा पनि भएको त्यही हो। घिमिरे आफैँमा बैंकका असल ऋणी चाहिँ थिएनन्। उनले लामो समयदेखि बैंकमा बुझाउनुपर्ने रकम बुझाएका थिएनन्। नयाँ शाखा प्रबन्धकले घिमिरेको कन्स्ट्रक्सनका मेसिनरी र गाडी सबै तानिदिए। उनको कारोबार ठप्प भयो।

देवकोटा शाखा प्रमुख हुँदा ऋण दिएर व्यापार विस्तारमा घिमिरेलाई सघाएका थिए। पछि तिनै घिमिरे देवकोटाविरुद्ध बैंकमा उजुरी गर्न पुगे।

त्यसअघि हुन्डाईको डिलर लिएको प्रकृति इन्टरप्राइजेजको केस पनि बैंकमा पुगेको थियो‚ जसमा पनि देवकोटा वित्तीय अनुशासनभन्दा बाहिर गएको पाइएको छ।

इन्टरप्राइजेजका सञ्चालक प्रतीक सुवेदीलाई देवकोटाले ऋण लिन प्रेरित गरे। उनको नाममा ४० लाख रुपैयाँ ऋण बैंकले दियो। तर, उक्त ४० लाख ऋणीको हातमा पुगेन। सुवेदीले लिएजति ऋण अर्थात् ४० लाख रुपैयाँ नपाएको भन्दै बैंकमा उजुरी गरेका छन्।

यतिमात्र होइन, मेगा बैंकको शाखा कार्यालय रहेको घरका धनीसँग पनि उनको कारोबार देखिएको छ। देवकोटा मिटरब्याजी रहेको भन्दै प्रहरीमा उजुरी परेको छ। मेगा बैंकअघि देवकोटा प्रभु बैंकको शाखा प्रबन्धक थिए। त्यहाँ भल्टको पैसा चलाएको भेटिएपछि प्रभु बैंकले उनलाई हटाएको थियो।

प्रभुले हटाएपछि उनी मेगा बैंक पुगेका हुन्। त्यहाँ हुँदा पनि उनीविरुद्ध उजुरी आइरहन्थ्यो। मिटरब्याजी रहेको भन्दै स्थानीय पत्रिकाले त उनीविरुद्ध समाचार सम्प्रेषण नै गरेको थियो।

बारम्बार उजुरी आउन थालेपछि उनको कारोबार संदेहको घेरामा परिरहेको थियो। त्यसै क्रममा उनले आफ्नो भाइ पर्ने सुजन देवकोटालाई बैंकबाट ऋण दिलाएको देखियो। त्यो ऋण तिर्न नसकेपछि प्रतीक सुवेदीलाई अरु ऋण लिन लगाएर भाइको ऋण भुक्तानी गरेको बैंक स्टेटमेन्टबाट खुलेको छ।

उनका ‘क्लाइन्ट’ मात्र होइनन्, उनकै कारोबार पनि अपत्यारिलो देखिन्छ। मासिक ७० हजार तलब खाने देवकोटाको दैनिक रुपमा बैंकमा लाख रुपैयाँ हाराहारीको कारोबार गरेको देखिएको छ। यसबाहेक उनकी श्रीमतीको पनि अलग्गै कारोबार देखिन्छ।

श्रीमती गृहिणी हुन्। उनको एक करोड ४२ लाख रुपैयाँको कारोबार देखिँदा बहिनी ज्वाइँको अढाइ करोड रुपैयाँको कारोबार देखिन्छ। उनकै पनि डेढ करोडको कारोबार देखिन्छ। यसबाहेक, आफ्नो शाखाबाट ऋण लिने ऋणीसँग प्रत्यक्ष कारोबारमा उनको संलग्नता देखिएको छ। उनी मध्यमवर्गीय परिवारका हुन्।

मेगा बैंकमा जोडिएपछि देवकोटाको आर्थिक हैसियत पनि ह्वात्तै माथि गएको देखिन्छ। तीन वर्षको बीचमा कट्ठाको १५ लाख रुपैयाँका दरले १८ कट्ठा जग्गा किनेर ‘फरेष्ट भ्यू’ होटल खोलेका छन् उनले। उनले खोलेको होटल ४० कोठाको छ। साथै, उनले पाँच तले घर पनि बनाएका छन्।

यिनै कारोबार र उजुरीका शृंखलाका बीच वित्तीय अनुशासनको विषयलाई लिएर उनीमाथि बैंकले छानबिन सुरु गरेको थियो। विवादै विवादले घेरिन थालेपछि उनले बैंकबाट राजीनामा समेत दिए।

उनले दिएका अधिकांश ऋणमा कैफियत देखिएपछि बैंकले उनको राजीनामा स्वीकृत गरेन। ब्यक्तिगत लेनदेनमा दिएर बिगारेको ऋण भन्ने पुष्टी भएकाले त्यसलाई उठाउन भन्यो।

विभिन्न गम्भीर खालका उजुरी परेकाले उनलाई केन्द्रीय कार्यालयमा डाकिएको थियो। उनी एकजना साथीसँगै मोटरसाइकलमा काठमाडौं हिँडेका पनि थिए।

त्यही क्रममा उनले त्रिशूलीमा फाल हालेको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।-बिजमाण्डू

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖