• Wednesday 7th of October 2026

माओवादी त्यागेर जनमतबाट उपचुनाव लडेका कुशवाह एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

वीरगञ्ज । नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका बाराका नेता शिवचन्द्र कुश वाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सिके राउत नेतृत्वको जनमत पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुश वाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।

कुशवाहले अहिलेको माओवादीले जनयुद्धकलामा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्व एमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए । उनले आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले ३० वर्षपछि घर फर्किएको बताए ।

कुश वाह २०६४ सालमा बारा २ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सिके राउतसँग सहमत हुन सकेनन् ।

एमालेमा प्रवेश गर्दै उनले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पुरानै घर सहज भएको र बारा मात्र नभएर मधेसमै एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖