कैलाली । लामो समयदेखि प्रहरीको संरक्षणमा रहँदै आएका अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का अन्ततः प्रहरीको फन्दामा परेका छन् ।
भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने गिरोहसँग सम्बन्धित भएको आशंकामा आइतबार खड्कालाई इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार खड्का यसअघि मालाखेती प्रहरी प्रमुख गंगा बहादुर थापासँग नजिक थिए । उनी थापालाई व्यक्तिगत सवारीमा घुमाउने, स्वागत–सत्कार गर्ने जस्ता गतिविधि गर्दै प्रभाव जमाउने गरेका थिए।
तर डीएसपी थापाको सरुवा भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो । डीएसपी थापासँग व्यवसायी खड्काको कनेक्सन रहेको आशंका व्यक्त गरिएको छ । डीएसपी थापाको सरुवा भए लगत्तै खड्का पक्राउ पर्नुलाई झनै शंकास्पद रुपमा हेरिएको छ ।
थापाको स्थानमा हालसम्म नयाँ डीएसपी नआएको फाइदा उठाउँदै कैलाली प्रहरीको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले खड्कासँगै धनगढीका दुई सुनचाँदी व्यवसायी र अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ, यद्यपि उनीहरूको नाम गोप्य राखिएको छ ।
मालाखेतीका इन्स्पेक्टर दान सिंह भण्डारीका अनुसार ‘माथिको आदेश’ का आधारमा खड्कालाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा खड्काको भारतबाट चोरी गरी ल्याइने सुनको कारोवारीसँग नियमित सम्पर्क रहेको प्रमाण फेला परेको प्रहरीको दाबी छ।
खड्कालाई कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । सुदूरपश्चिम प्रहरी स्रोतका अनुसार भारत–नेपालबीच सक्रिय सुन तस्करी गिरोहमाथि अहिले व्यापक अनुसन्धान सुरु गरिएको छ ।-अनलाइन नेपाल
