• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

टूथब्रसले खोल्यो श्रीमानले धोका दिइरहेको पोल


  • धनकुटा खबर
  • .

लण्डन । बेलायतकी एक महिलाले आफ्ना श्रीमानले धोका दिइरहेको शंका इलेक्ट्रिक टूथब्रसको मोबाइल एपमार्फत प्रमाणित गरेकी छन्।

एक दशकभन्दा बढी अनुभव संगालिसकेका बेलायती निजी अनुसन्धानकर्ता पल जोन्स भन्छन्, ‘हालै अनुसन्धान गरेको सबैभन्दा अनौठो केसमध्ये यो एउटा हो। सामान्यतया कसैलाई धोका दिँदै गर्दा समात्नु दुर्लभ हुन्छ, त्यसमाथि पनि इलेक्ट्रिक टूथब्रसको मद्दतले धोकेबाज समात्नु अझै दुर्लभ हो।’

जोन्सका अनुसार उनका एक महिला क्लाइन्टले आफ्ना दुई सन्तानलाई नियमित रूपमा ब्रस गराउने बानी बसाल्न स्मार्ट टूथब्रसको एप प्रयोग गरिरहेकी थिइन्। त्यो एपमा ब्रस गर्ने समय र गतिविधिको विवरण देखिन्थ्यो। तर, एक दिन उनले देखिन् कि ब्रस त्यस्तो समयमा प्रयोग भइरहेको छ जुन बेला उनका बच्चा स्कूलमा र श्रीमान् अफिसमा हुनुपर्ने थियो।

शुरुमा श्रीमान्ले आफू अफिसमा भएको दाबी गरे, तर समयसँगै महिलाले प्रत्येक शुक्रबार बिहान टूथब्रश प्रयोग भइरहेको कुरा याद गर्न थालिन्, त्यो पनि यस्तो समयमा जब उनका श्रीमान् अफिसमा हुनुपर्ने थियो। वास्तविकतामा, उनका श्रीमान् महिनौँदेखि शुक्रबार बिहान अफिस गएका नै थिएनन्। बरु उनी घरमै एक सहकर्मी महिलासँग सम्बन्ध राख्दै थिए, जब घरमा कोही हुँदैनथ्यो।

जोन्सले भने, ‘स्मार्ट उपकरणले दिएको डेटा टाइमस्ट्याम्प गरिएको भावनाविहीन तर सटीक हुन्छ, कहिलेकाहीँ लोकेसनसमेत दिन्छ। जब तपाईंको ब्रसले १०:४८ बजे प्रयोग भएको देखाउँछ र तपाईं ९ बजेदेखि अफिसमा हुनु पर्ने हो, त्यो व्याख्या गर्न गाह्रो हुन्छ।’

जोन्सले अबका दिनहरूमा स्मार्ट उपकरणहरू, चाहे त्यो भ्वाइस असिस्टेन्ट होस् वा टूथब्रस, यस्तो ‘निर्दोष देखिने डेटा’मा समेत प्रमाण हुने चेतावनी दिए । कसैको चालाकीले धोका दिन सकिएला, तर स्मार्ट उपकरणको डेटा झुट नबोल्ने उनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖