• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय


  • धनकुटा खबर
  • .

भर्जिनिया । झन्डै एक वर्ष अघि अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घर नजिकै चार नेपाली मृत फेला परेपछि नेपाली समुदाय शोकमा डुबेको छ । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

मानेसास पार्क प्रहरीका अनुसार जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो।

घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीय बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। सबै शवहरूलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ।

प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखिएको जिकिर गरेको छ। तर, गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन।

छिमेकीहरूका अनुसार मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए। मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ।

मृतक ८ वर्षीय बालिका मनासस पार्क सिटी स्कुलमा अध्ययनरत थिइन्। विद्यालयले भावुक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ। पीडित विद्यार्थीका सहपाठी तथा शिक्षकलाई मानसिक सहयोग उपलब्ध गराउने तयारी गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले केयर सोलेस नामक संस्थासँग मिलेर अभिभावक, कर्मचारी र विद्यार्थीका लागि मानसिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

यो त्रासदीले सम्पूर्ण नेपाली समुदाय, अमेरिकी समाज र स्थानीय बासिन्दालाई गहिरो शोकमा डुबाएको छ। ममता काफ्लेको घर र घटना स्थल केवल ३ मिनेटको मात्र पैदल दूरी गुगल नक्साले देखाउँछ । ममता काफ्लेको सुनुवाइ आगामी अगस्त महिनाको पहिलो सप्ताहमा सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖