• Tuesday 6th of October 2026

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन, बाँकी भूभागबाट कहिले बाहिरिन्छ?


  • धनकुटा खबर
  • .

काठमाडौ। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिमका सबै भूभाग र कर्णाली प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार अन्य भूभागमा मनसुनको प्रभाव कायम छ। बाँकी क्षेत्रहरूबाट पनि मनसुन बाहिरिन अब धेरै दिन नलाग्ने उनले बताए।

पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ। तर यसपालि पाँच दिन ढिला गरी देशका आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।

मौसमविद् अधिकारीका अनुसार कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिएको भएपनि यसपालि सुदूरपश्चिम र कर्णालीका पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिनसकेको बताए।

‘देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन गरिरहेको छ,’ उनले भने।

मनसुन बाहिरिएपछि सुदूरपश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। देशैभरी पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना पनि नरहेको मौसमविद् अधिकारीले बताए।

‘मनसुन बाहिरिएपनि स्थानीय वायु र पश्चिमी वायुका कारण छिटफुट वर्षाको सम्भावना रहन्छ तर सुदूरपश्चिम र कर्णालीका पश्चिम भूभागमा तत्कालका लागि ती वायु सक्रिय नरहेकाले त्यो सम्भावना पनि छैन,’ उनले भने।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖