स्थानीय समयअनुसार सोमबार बिहान इजरायलको हाइफा क्षेत्रमा रहेको देशकै सबैभन्दा ठूलो तेल रिफाइनरीबाट बाक्लो धुवाँ निस्किएको पुष्टि भएको छ। बीबीसीले सार्वजनिक गरेको विश्लेषण अनुसार, यो घटना इरानले रातारात गरेको क्षेप्यास्त्र आक्रमणपछि भएको हो।
बीबीसीले प्राप्त भिडियो फुटेजहरू, की–फ्रेम र एजेन्सी तस्बिरहरूको गहिरो विश्लेषण गर्दै हाइफामा अवस्थित बजनान समूहद्वारा सञ्चालित रिफाइनरीमा क्षति पुगेको पुष्टि गरेको छ। धुवाँ निस्किरहेको देखिने भिडियोको स्थान र समय मिलाउने क्रममा, गुगल अर्थमार्फत क्षेत्रमा पहिले खिचिएका तस्बिरहरूसँग पनि तुलना गरिएको थियो।
इरानी क्षेप्यास्त्रले सुविधाको केही भागमा हमला गर्दा तेल प्रसोधन पाइपलाइन र विद्युत् प्रसारण लाइनहरूमा क्षति पुगेको बताइएको छ।
यद्यपि इजरायली अधिकारीहरुले तेल रिफाइनिङ कार्य भने निरन्तर जारी रहेको जानकारी दिएका छन् । तर अन्य सहायक संरचना र सेवा भने आंशिक रूपमा बन्द गरिएको बताइएको छ।
