सोमबार ( हिजो ) फेसबुकमा सबैलाई अलविदा भनेर लामो स्टाटस लेखेर हराएका डा.केशव श्रेष्ठलाई प्रहरीले तिव्ररूपमा खोजी गरेर बालाजुबाट उद्धार गरेको थियो । उनै डाक्टर केशवलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता इन्जिनियर सागर ढकाल लेख्छन् –
“प्रिय डा. केशव श्रेष्ठ जी / इमानदार राष्ट्र सेवकहरू,
नमस्ते , पहिलो कुरा त हजुरले यो पोस्ट पढ्न पाउनु हुने भयो, धेरै धेरै नै खुसी छु । मैले बुझ्छु हजुरको पिडा। म आफै सरकारी सिस्टममा २ वर्ष एक पैसा नखाई लडेको मानिस हुँ। फुटबललाइ त के हानिन्छ र, त्यो भन्दा बढी मलाइ हानिएको थियो, यताबाट उताको मन्त्रालय उताबाट यता। सायद आँशु नखसेको मन्त्रालयका ट्वाइलेट नै छैनन् ।
एक पैसा नखाएको अनुसन्धानमा लगानि गरौँ भन्ने भर्खर २२-२३ वर्षको युवालाई मन्त्रालयहरुमा दलालको उपमा दिइएको थियो। तर नेताका साला जेठानहरू र पार्टीका टाउकेहरुले पैसा तिरेर लिएको राजनीतिक पदमा बसेका भने सुद्ध थिए। पछि फर्केर हेर्दा धन्न भगवानले जोगाए भन्ने हुन्छ। नेपालको यथार्थ यस्तो भयो कि- भ्रष्टाचारमा देश विश्वकै पहिलो स्थान मध्य पर्न थालिसक्यो । यहाँ जसले भ्रष्टाचार गर्दैनन् तिनीहरू नै भ्रष्टाचारी हुन्छन् ।
जसले थाहै नपाइ सुनको भारी बोक्छ त्यही नै सुन वसार पसारको ठेकदार हो। देशमा सामान्य जागिर गरेर घर परिवार छोरा छोरी श्रीमती केही पाल्न नसकिने छ तर हाम्रै छिमेकी भारत र चिनमा हाम्रो ले जस्तो घाँटिनै समात्दैन। समाधान छ । भ्रष्टाचारको अन्त्य त्यसको लागी भ्रष्टाचारी पार्टीको अन्त्य। एक पैसा दिन्न र एक पैसा लिन्न भन्ने यहा नारा मात्र हो। भ्रष्टाचार नगरी आफ्नो खुट्टामा आफै यो देशमा उभिन्छु भन्नेलाई अत्याचार नै गाह्रो छ, पागल बनाएर मर्ने सम्म पनि पुर्याउछ। कि भ्रष्टाचार गर कि मरको स्थिति छ। म आशावादी छु केशव जी, यो घैँटो अब फुट्न धेरै बेर छैन।
केशव जी जस्ता सायद ५-१०% कोही सरकारी कर्मचारी बाँकी हुनुहुन्छ भने हरेस नखानु होला है। तलका १०-२०% पैसा लुट्ने मात्र होइन मान्छे नै मार्न पछि नपर्ने भ्रष्टाचारीहरूको दिन गन्ती सुरु भएको छ। हजुरले पार्टीहरुलाइ पैसा नबुझाएर हजुरहरूलाई काम नदिई बार्दलीमै अड्काएर टेबल नदिई थन्क्याइएको होला , सिस्टम नजिकबाट बुझ्दै गर्नु , हजुरहरूको पालो आउँदै छ। म आशावादी छु। सिस्टमले काम गर्छ। हामी गर्छौँ। एकदमै पीडा छ बुझ्छु तर धेरै नआत्तिनु होला है।
