• Tuesday 6th of October 2026

अलौकिक शक्ति भएको ताप्लेजुङको पाथिभरा मन्दिर


  • धनकुटा खबर
  • .

ताप्लेजुङ – पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।

यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किम्मदन्ति तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।

पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा, वोका, पाठा, पाठी बलि चढाइन्छ तर वली स्थलमै रगत हराएर सिमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन् । देवीमा चढाइएको वली संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन यही कारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ ।यस स्थानमा विश्वमा नै अति दुर्लभ मानिएको केवल ‘नेपालमा मात्र पाइने काडे भ्याकुर, मोनाल, चिलिमे तथा फुत्रगसका वथानहरुले स्वागत गर्न सक्छन् । झुल्कदो घामको समयपख लेकाली मृगको हाँचले तपाईसँग लुकामारी खेल्न रुचाउँछन् ।

नेपाल अधिराज्यमा पाइने गुरासका ४५ प्रजाति मध्ये २३÷२४ गुरासका प्रजातिहरु पाइने कुरा फुल विशेषज्ञहरु बताउँछन् । चैत्र तथा वैशाखको मौसममा सम्पूर्ण पाथीभरा क्षेत्र गुराँसले धपक्क बलेको हुन्छ । यो मौसममा तपाई हामी रातो सुनपाती, झुसे सुनपाती, पहेलो चिमाल, लालीगुराँस जस्ता विभिन्न प्रजातिका गुराँसहरु जंगलमै रंगी विरंगी पारेर ढकमक्क फुलेको पाउनुहुनेछ । यहाँको यात्रा गर्दा लाग्दछ मानौ मिठो सपनाको अलौकिक काल्पनिक सुन्दर वगैचामा घुमफीर गरिदैछ ।

दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति देख्नुहुन्छ । जुन विभिन्न धातुबाट बनेको छ जसको मूल्य ९ लाख परेको हुनाले नैलाखे मुर्ति पनि छ ।यस्तो धार्मिक, सांस्कृतिक, दैवीक शक्ति तथा प्राकृतिक शौन्दर्यता अवलोकन गर्न तपाई हामी एकचोटी जानैपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖