अमेरिकाले झुक्याएर आइतबार इरानी आणविक भट्टीमा प्रहार गरेको खुलेको छ।
अमेरिकाले फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टीसहित नतान्ज र इस्फहानमा रहेका भट्टीमा पनि आइतबार बिहान आक्रमण गरेको थियो।
फर्दोको पहाडमुनि रहेको भट्टी ध्वस्त पार्न बी-२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्थ्यो। अमेरिकाले सो आक्रमण गर्न लागेको भनेर इरानले थाहा नपाओस् भनेर शनिबार मिजोरीबाट एक हुल बी-२ बमवर्षक विमान पश्चिमतर्फ लागे।
ती विमानहरू ट्रयाक गर्न नमिल्ने (स्टेल्थ) भए पनि तीनले झुक्याउनका लागि सार्वजनिक रूपमै ट्रयाक गर्न मिल्ने गरी प्रशान्त महासागरतर्फ उडे। घरी ट्रयाक गर्न मिल्ने घरी नमिल्ने गर्दै तिनीहरू प्रशान्त महासागरमा रहेको गुआम शिविर तर्फ उडे।
मिजोरीबाट त्यो हुल पश्चिमतर्फ उडेकै समयमा सातवटा बी-२ बमवर्षक विमान भने दुई-दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे। ती जहाजहरू ट्रयाक गर्न नमिल्ने गरी नै झण्डै १८ घण्टा उडेर इरान पुगे। अनि ६ वटा बी-२ ले फर्दोमा १२ वटा जिबियू–५७ प्रहार गरे। अर्कोले नतान्जमा दुईवटा जिबियू–५७ खसाल्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि देखि नै इरानमा आक्रमण गर्ने सन्देश दिएकाले इरानीहरूलाई झुक्याउन अमेरिकी सेनाले केही बी-२ बमवर्षक विमान देखिने गरी इरानतर्फ नभएर पश्चिमतर्फ उडाएको खुलेको छ।
ट्रम्पले आक्रमणबारे सार्वजनिक टिप्पणी वा आफ्नो सामाजिक संजालमा पोस्ट गर्लान् भनेर सो आक्रणको योजना बनाइरहेका जनरलहरूलाई ठूलो चिन्ता रहेको बताइन्छ। इसराइलले जुन १३ मा हमला गरेदेखि नै फर्दोमा रहेको भट्टीमा प्रहार गर्न अमेरिका पनि सहभागी हुने खालको सन्देश दिएका थिए।
यस्तोमा इरानीहरू अमेरिकी आक्रमणबारे पक्कापक्की भएर बसेका थिए। त्यसैले उनीहरूलाई झुक्याउनका लागि आफ्ना जनरलहरूको सल्लाहअनुसार ट्रम्पले केही दिन अघि दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय लिने बताएको मानिन्छ।
इरानमाथि आक्रमण गर्नका लागि अमेरिकाले बी-२ बमवर्षक विमान, लडाकु विमान र हावामै ती विमानहरूमा तेल हाल्न इन्धन बोक्ने विमानहरू गरी १२५ वटा भन्दा बढी विमानको प्रयोग भएको अमेरिकी मिडियाले लेखेका छन्।
अमेरिकी अनलाइन एक्सियसका अनुसार हमला गर्नु केही दिन अघि बी-२ बमवर्षक विमानको सुरक्षाका निम्ति ती भट्टीको आसपास रहेका इरानका एअर डिफेन्स सिस्टम ध्वस्त पार्न इसराइललाई अमेरिकाले आग्रह गरेको थियो। अमेरिका आफैले पनि केही एअर डिफेन्स सिस्टमको लोकेसन दिएको थियो।
त्यसपछि इरान पुग्ने बेलामा शुरूमा लडाकु विमानहरू गएर केही स्थानमा प्रहार गरे। अनि त्यसपछि बी-२ बमवर्षक विमानले बंकरभेदी जिबियू–५७ बम खसाले।
अपरेसन ‘मिडनाइट ह्यामर’ नाम दिइएको सो अमेरिकी आक्रमणमा लडाकु र बमवर्षक विमानहरू बाहेक एक पनडुब्बीले समेत इरानमाथि मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले खुलाएको छ।
