• Monday 5th of October 2026

सलमान खानकी पूर्वप्रेमिकाको घरमा चोरी


  • धनकुटा खबर
  • .

मुम्बई । सलमान खानकी पूर्वप्रेमिका बलिउड अभिनेत्री संगीता बिजलानीको पावना ड्यामस्थित फार्महाउसमा चोरी भएको छ। शुक्रबार केही अज्ञात व्यक्तिहरूले उनको फार्महाउसमा पसेर तोडफोड गर्नुका साथै केही सामानहरू चोरी गरेका हुन्। चोरी गर्नुअघि उनीहरूले त्यहाँ जडान गरिएका सीसीटीभी क्यामेराहरू पनि फुटाएका थिए।

हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार, लोनावाला ग्रामीण प्रहरीले यस घटनालाई सुनियोजित भएको बताएको छ। चोरी भएको समयमा अभिनेत्री बिजलानी फार्महाउसमा उपस्थित थिइनन्। बिजलानीले यस घटनाको बारेमा पुणेको ग्रामीण प्रहरी कार्यालयमा लिखित उजुरी दिएकी छिन्।

यस विषयमा जानकारी दिँदै एसपी सन्दीप गिलले अभिनेत्री बिजलानी मुम्बईमा बस्ने र विगत चार महिनादेखि आफ्नो बुवाको बिमारीका कारण फार्महाउस जान नपाएको बताए। बिजलानीको उजुरीअनुसार, जुलाई १८ को बिहान करिब ११स्३० बजे उनी दुई जना घरेलु कामदारसँग फार्महाउस पुग्दा फार्महाउसको मुख्य ढोका जबरजस्ती खोलिएको देखेकी थिइन्। भित्र पसेपछि घरमा चोरी र तोडफोड भएको उनले थाहा पाइन्।

प्रहरीका अनुसार, फार्महाउसका झ्यालका ग्रिलहरू तोडिएका थिए, एउटा टिभी चोरी भएको थियो र अर्को टीभी फुटेको अवस्थामा फेला परेको थियो। माथिल्लो तलाको फर्निचर र घरको सामानहरू पनि तोडफोड भएको थियो। फ्रिज पनि तोडिएको थियो र अन्य केही महँगा सामानहरू हराएका थिए।

फार्महाउसको प्रवेशद्वारअगाडि जडान गरिएका सबै सीसीटीभी क्यामेराहरू पनि तोडिएको हुनाले यो योजनाबद्ध तरिकाले गरिएको चोरी भएको प्रहरीको भनाई छ। संगीता बिजलानी १९८० मा मिस इन्डिया थिइन्।

उनी सलमान खानसँग लगभग १० वर्षसम्म सम्बन्धमा थिइन्। तर, दुवैले विवाह गरेनन्। त्यसपछि संगीताले सन् १९९६ मा क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन्। सन् २०१० मा उनीहरूको सम्बन्ध विच्छेद भयो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖