काठमाडौं । लन्डनको ल्युटन विमानस्थलबाट स्कटल्यान्डको ग्लास्गो जाँदै गरेको विमानभित्र एक यात्रुले चिच्याउँदै विमानलाई बमले उडाइदिने धम्की दिएका छन् । उनले ‘अमेरिका मुर्दावाद’ र ‘ट्रम्प मुर्दावाद’ भन्ने नारा पनि लगाए ।
स्कटल्यान्डको ग्लास्गो विमानस्थलमा विमान अवतरण हुने बित्तिकै उनलाई पक्राउ गरिएको छ । यो घटना लन्डनको ल्युटन विमानस्थलबाट ग्लास्गो जाँदै गरेको ईजीजेट एयरलाइन्सको उडानमा भएको हो ।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा ती व्यक्ति ‘म विमानमा बम खसाल्छु’, ‘अमेरिका मुर्दावाद’, ‘ट्रम्प मुर्दावाद’ र ‘अल्लाह अकबर’ भन्दै चिच्याइरहेको देखिन्छ ।
विमानमा रहेका अर्का एक यात्रुले उनलाई समातेर भुइँमा लडाएका थिए । ग्लास्गो विमानस्थलमा विमान अवतरण हुने बित्तिकै प्रहरीभित्र प्रवेश गरेर ४१ वर्षीय ती व्यक्तिलाई पक्राउ गर्यो । हाल उनी हिरासतमा छन् र उनसँग सोधपुछ भइरहेको छ ।
प्रहरीले बताएअनुसार आतंकवाद विरोधी विभागले इन्टरनेटमा भाइरल भएको भिडियोको जाँच गरिरहेको छ ।
ग्लास्गो टाइम्सका अनुसार एयरलाइन्सले उडानमा कुनै पनि यात्रु वा विमानको सुरक्षामा कुनै क्षति भएको छैन ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्कटल्यान्डमा छन् । एनडीटीभी
