• Sunday 4th of October 2026

मोर्निङ वाकले अवसाद निको पार्छ!


  • धनकुटा खबर
  • .

नेदरल्यान्ड्सका शोधकर्ताहरूले पछिल्लो समय गरेको एउटा अनुसन्धानले बिहानै उठेर जो घुम्न निस्कन्छ, उसको अवसाद निको हुने देखाएको छ। निको नै हुने त होइन, तर कसैले अवसादको औषधि खाइरहेको छ भने उसले औषधि छाडेर दौडँदा खाए बराबरको काम गर्ने अनुसन्धाताहरूको दाबी छ।

१४१ जना अवसादका रोगीहरूलाई १६ हप्ताको एउटा कार्यक्रमका लागि भर्ती गरिएको थियो। तीमध्ये ४५ जनाले बिहान दौडनु भन्दा औषधि अवसादको औषधि खानु उचित ठाने। बाँकीका ९६ जनाले भने औषधिको साटो बिहान चाँडै उठेर हिँड्ने काम रोजे।

४५ जनाले एसएसआरआई (सेलेक्टिभ सेराटोनिन रिअप्टेक इन्हिबिटर) औषधि रोजे। बाँकीका ९६ जनाले हरेक साताको दुई वा तीन दिनको ४५ मिनेटको मोर्निङ वाक छनोट गरे। यो ४५ मिनेटको हिँडाइलाई भने चिकित्सक समूहले नजिकबाट नियाले। कसैलाई पनि केही कुराको छुट दिइएन।

आम्स्टर्ड्याम विश्वविद्यालयमा मनोचिकित्साकी प्राध्यापक ब्रेन्डा पेनिक्सले अगुवाई गरेको यस अध्ययनमा के देखियो भने अवसादको औषधि खाइरहेका र बिहानै उठेर दौडिरहेका समूहका ४४ प्रतिशत व्यक्तिको अवसाद निको भयो।

बिहानै दौडनेहरूको त औसतमा वजन, रक्तचाप, मुटुको गतिमा सुधार भएको पाइयो भने औषधि खानेहरूमा पनि अवसादमा धेरै सुधार भएको पाइयो। तर बिहान दौडनेहरूमध्ये ५२ प्रतिशतले मात्र चिकित्सकले सुझाएअनुसारको दौड वा हिँडाई पूरा गरेका थिए। उनीहरूले पूरै १६ हप्तासम्म हिँडेका थिए। त्यस्तै औषधि खानेहरूमध्ये ८२ प्रतिशतले चाहिँ औषधिको मात्रा सही रूपमा, सही समयमा खाएको पाइयो।

अध्येता ब्रेन्डा भन्छिन्, ‘बिहान हिँड्दा स्वास्थ्यलाई निकै फाइदा हुन्छ भन्ने देखियो तर पनि मान्छेहरू त्यसलाई नियमित रूपमा पछ्याउन भने अल्छी गरेको पाइयो। भलै यसमा फाइदा ठूलो देखिए पनि मान्छेहरू त्यसको साटो औषधि नै किन लिन रूचाउँछन् भन्ने यसबाट प्रस्टिन्छ।’

दैनिक उठेर दौडनका लागि मान्छेलाई प्रेरणा चाहिन्छ र नियमित रूपमा उत्साह बढाइरहनु पर्छ। अवसादमा भएकाहरूले त बिहानै उठेर दौडनु अझ जरूरी भएको आम्स्टर्ड्याम विश्वविद्यालयको मेडिकल सेन्टरका डा. एरिक रूही बताउँछन्। अझ अवसादको औषधि खानेहरूका लागि त चिकित्सकले बिहान अनिवार्य दौडन प्रेरित गर्नुपर्ने रूहीको सुझाव छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖