• Monday 5th of October 2026

६ वर्षपछि ‘मेरिबास्सै’मा जिम्मेवारी सहित फर्किए राजु मास्टर


  • धनकुटा खबर
  • .

काठमाडौँ । झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हास्य टेलिसिरियल ‘मेरिबास्सै’मा जिम्मेवारीसहित कलाकार राजु पौडेल (राजु मास्टर) पुनः फर्किएका छन् ।

राजुले आगामी साताबाट प्रसारण हुने गरी मेरिबास्सैको लेखन र निर्देशनको जिम्मेवारी लिएका छन् । साथै उनले मेरिबास्सैमा अभिनय पनि गर्नेछन् । मिडिया हबको प्रस्तुतिमा १९ वर्षको यात्रा गरिरहेको मेरिबास्सैबाटै राजुले कलाकारिताको यात्रा तय गरेका थिए ।

सुरुबाटै १२ वर्षसम्म निरन्तर अभिनय गरेका राजुले बिचमा ६ वर्ष अन्य सिरियलमा काम गरे । अहिले पुनः उनी आफ्नै घरमा फर्किन पाउँदा खुसी र जिम्मेवारी बोध भएको बताउँछन् ।

’मेरिबास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ । यही ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरिबास्सैको देन हो,’ राजुले भने । ‘अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु । त्यसैले चुनौती महसुस गरेको छु ।’

राजुले पछिल्लो समय मेरिबास्सैबाट बाहिरिएर आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा सकस सिरियलमा काम गरिरहेका छन् । त्यसैले पनि उनले राम्रो अनुभव बटुलेका छन् ।

मेरिबास्सैको ९२३ भागबाट राजुले जिम्मेवारी सम्हाल्नेछन् । उनका अनुसार यस पटकबाट नयाँ कथाबाट सिरियल अगाडी बढ्नेछ । राजुले भने,‘हामीले चार भाग छायाङ्कन गरिसकेका छौँ । मेरिबास्सैको छायाङ्कनस्थल धादिङको ज्वालामूखी गाउँपालिकाको ५, खरी भदुवार राजेका छौँ ।’

राजुले मेरिबास्सैमा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको बताउँछन् । उनी सहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन् ।

यस्तै कलाकारहरू रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

मेरिबास्सैलाई घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले खिच्नेछन् भने रविन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन् ।

व्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन् । मेरिबास्सै प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖