लन्डन । इजी जेटका एक पाइलटले मापसे (मादक पदार्थ सेवन) गरेर सारा हद पार गरेका छन् ।
अगस्ट ४ मा लन्डनबाट अफ्रिकी टापु केप भर्डेको उडानपछि ती पाइलटले एक रिसोर्टमा बसेर लामो समयसम्म मापसे गरेको बताइएको छ । मापसेपछि अगस्ट ५ को रात स्थानीय समय अनुसार २ः३० बजेतिर ती पाइलट मातेर घुमिरहेको अवस्थामा फेला परेका थिए ।
उनी अगस्ट ६ मा फिर्ती उडान भर्ने तालिकामा थिए । रिसोर्टमा मापसे गरेर सारा हद पार गरेका उनलाई केही पाहुनाले चिनेर इजी जेट एयरलाइन्स समक्ष घटनाबारे जानकारी गराएका थिए ।
रिसोर्टको रिसेप्सनतिर नग्न अवस्थामा देखिएका उनी जिमखानासम्म पनि सोही अवस्थामा पुगेका थिए ।
सोही आधारमा एयरलाइन्सले ती पाइलटलाई उडान भर्नबाट रोक लगाएको छ । इजी जेटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार अब ती पाइलटले अनुसन्धानको सामना गर्नुपर्ने छ । इजी जेटका प्रवक्ताले यात्रीको सुरक्षा एयरलाइन्सको पहिलो प्राथमिकता रहेको पनि बताए ।
