• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’ : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, सङ्ख्या अझ बढ्न सक्ने


  • धनकुटा खबर
  • .

जम्मू । जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा (बादल फाट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। किश्तवाडका डीसी पंकज शर्माले बीबीसीसँगको कुराकानीमा मृत्युको तथ्याङ्क पुष्टि गर्दै ठुलो क्षति हुने आशङ्का व्यक्त गरेका छन्।

किश्तवाड जिल्ला अस्पतालका सीएमओ राजेन्द्र कुमारका अनुसार अहिलेसम्म ३५ जनाको शव अस्पतालमा ल्याइएको छ, जसमध्ये ११ जनाको पहिचान भइसकेको छ। मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ। जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले घाइतेको सङ्ख्या करिब १०० पुगेको जानकारी दिएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार घटनास्थलमा अचानक बाढी आएको थियो। यो क्षेत्र मचैल माता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेला ठुलो भीड रहेको बताइएको छ।

भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाउँदै ६०–६० सैनिकका पाँच टोली र मेडिकल टिम घटनास्थलमा परिचालन गरिएको जनाएको छ। बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।

जम्मू–कश्मीरको मुख्यमन्त्री कार्यालयले हेल्प डेस्क र कन्ट्रोल रुम नम्बर सार्वजनिक गरेको छ। मुख्यमन्त्री उमर अब्दुल्लाहले १५ अगस्टको ‘एट होम’ चिया पार्टी र स्वतन्त्रता दिवसको बिहानको सांस्कृतिक कार्यक्रम रद्द गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै राहतका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएका छन्।

मुख्यमन्त्री उमर अब्दुल्लाहले केन्द्रीय गृहमन्त्री अमित शाहसँग फोनमार्फत सम्पर्क गरेर घटनापछि उत्पन्न परिस्थितिको जानकारी गराएको जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖