• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले सुनाए पुटिनको माग, जेलेन्स्कीले गरे अस्वीकार


  • धनकुटा खबर
  • .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेका मागबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जानकारी गराएका छन्।

शनिबार ट्रम्पले जेलेन्स्कीसँगको कुराकानीमा पुटिनको मागबारे जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
शनिबार ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेनमा शान्ति स्थापनाबारे तीन घन्टा छलफल भएको थियो।

छलफलका क्रममा पुटिनले युक्रेनको भूभाग दाबी गरेको र सो कुरा ट्रम्पले पछि जेलेन्स्कीलाई फोनमा जानकारी गराएको रोयटर्सले लेखेको छ।
पुटिनले किभ सम्पूर्ण दोनेत्स्क प्रान्त त्याग्न तयार भए फ्रन्टलाइनका मोर्चाहरू स्थिर राख्ने प्रस्ताव गरेको रोयटर्सले जनाएको छ। दोनेत्स्क मस्कोको मुख्य लक्ष्य बनेको औद्योगिक क्षेत्र हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन्। जेलेन्स्कीले रूसले युक्रेनको पाँच भागको एक भाग जमिन कब्जा गरिसकेको बताएका छन्। त्यसमध्ये दोनेत्स्कको एक चौथाइ भूभाग अगाडि नै कब्जा गरिसकेको बताएका छन्।

जेलेन्स्कीले यसअघि नै युक्रेनी भूभाग रूसलाई दान दिन आफू तयार नभएको बताउँदै आएका थिए।

ट्रम्पले युक्रेन स्थायी शान्तिका लागि तयार हुनुपर्ने पनि बताएका छन्।

उनले रूस युक्रेनको तुलनामा कैयौं गुणा शक्तिशाली भएकाले ऊ शान्तिका लागि आवश्यक सम्झौताका लागि तयार हुनुपर्ने बताएका थिए।
‘युक्रेनले सम्झौता गर्नुपर्छ। किनकी रूस अत्यन्त शक्तिशाली छ, युक्रेन छैन,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले जेलेन्स्कीलाई पुटिनसँग भएको वार्ता, रूसको माग र वार्ताबारे छलफल गर्न वाशिङ्टन डिसी बोलाएका छन्। त्यसका लागि सोमबार जेलेन्स्की ह्वाइट हाउस पुग्नेछन्। जेलेन्स्कीसँगै एक जना युरोपेली नेताहरू पनि ह्वाइट हाउस पुग्ने बताइएको छ।

सोमबारको छलफलपछि चाँडै पुटिनसहित त्रिपक्षीय छलफल हुने सम्भावना छ।

शनिबार नै ट्रम्पले त्रिपक्षीय छलफल हुने बताएका थिए। जेलेन्स्कीले आफू त्यसमा तयार रहेको जबाफ दिएका थिए।

रूसी राष्ट्रपति पुटिनले भने आगामी छलफल मस्कोमा हुनुपर्ने बताएका थिए।

त्यसलाई ट्रम्पले असम्भव नरहेको जबाफ दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖