अमेरिकाबाट झन्डै ७ हजार नेपालीलाई देशनिकाला गर्ने बाटो खुलेको छ। अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गर्दै नेपालीहरूले पाउँदै आएको अस्थायी संरक्षित दर्जा (TPS) सुविधा तत्काल अन्त्य गर्न आदेश दिएको हो।
२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकाले नेपाली नागरिकलाई अस्थायी संरक्षित दर्जा (TPS) प्रदान गरेको थियो। यसअन्तर्गत उनीहरूले कानुनी रूपमा बसोबास र काम गर्ने अनुमति पाएका थिए। तर, ट्रम्प प्रशासनले यसअघि नै यो सुविधा आगामी अगस्ट ५ पछि अन्त्य गर्ने घोषणा गरेको थियो।
अदालतको हालको आदेशसँगै सरकारको निर्णयलाई कानुनी मान्यता मिलेको छ। यसले गर्दा TPS सुविधा लिई अमेरिकामा बसिरहेका नेपाली नागरिकहरू देशनिकालाको जोखिममा परेका छन्।
यस घटनाले हजारौं नेपाली परिवारलाई गहिरो अन्योलमा पारेको छ भने, विभिन्न मानव अधिकार संगठनहरूले यस कदमको आलोचना गरेका छन्।
