काठमाडौं । कहिले मुख्य कलाकार केदार घिमिरे माग्ने बूढाको ६१ लाखको पारिश्रमिकको लफडा होस् या कहिले मिस पवि नामले परिचित पवित्रा साँकीले पाँच सय टेक खाएको गसिप होस् ! सुटिङको समयदेखि नै ‘माग्ने बूढा’ चलचित्र अनेक खाले झमेलामा परिरहेको छ ।
६१ लाख पारिश्रमिकको गसिपबारे माग्ने बूढा स्वयंले स्पष्टीकरण दिइसकेका छन् । मिडियामा आएजस्तो आफूले ६१ लाख नलिएको बताइसकेका छन् । अर्कातिर मिस पविले खाएको पाँच सय टेकको खबर भने अहिलेसम्म पनि चर्चामै छ । झनै मिस पवि स्वयंले ‘माग्ने राजा’ चलचित्र हेर्न नजाने भन्दै मिडियामा अन्तर्वार्ता दिँदै हिँडेपछि निर्माण टिम र उनीबीचको तिक्तता गहिरिँदै गएको प्रष्टै देखिन्छ । कतिसम्म भने आफूले थुकिसकेको थुक नचाट्ने समेत बताएकी छन् ।
भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्रको व्यापारलाई नै मिस पविको अभिव्यक्तिले असर गर्ने सम्भावना देखिएपछि निर्माण टिमले मिस पविसँग बसेर छलफल गर्न पनि खोजेको थियो । तर, मिस पवि सम्पर्कमै आउन नचाहिरहेको निर्माण टिमका एक सदस्यले बताए । ती सदस्यले भने, ‘मिडियामा त्यसरी अभिव्यक्ति दिँदै हिँड्नुभएपछि हामीले सम्पर्क गरेर मनमुटाव सुल्टाउन खोजेको हो । उहाँ सम्पर्कमा आउन खोजिरहनुभएको छैन ।’
ती सदस्यका अनुसार मिस पविको चलचित्रमा महत्वपूर्ण भूमिका पनि छैन । उनी केमियोको भूमिकामा छिन् । यति मात्रै होइन, मिस पविको जम्मा एउटा सिन मात्रै छ ‘माग्ने राजा’मा ।
‘चलचित्रमा उहाँको एउटामात्रै सिन छ । एउटा सिनमा सुदूरपश्चिमेली लवजमा बोल्ने एकजना कलाकार चाहिएको थियो । त्यसैका लागि मिस पविलाई केमियोको भूमिकामा लिएका हौं,’ ती सदस्यले भने, ‘उहाँले सुट सकाएर डबिङ पनि सकाइसक्नुभएको छ । उहाँको तर्फबाट सबै काम सकिएको छ । तर, अहिले बजारमा भने अनेक हल्ला चलिरहेको छ ।’
अहिले हलहरुमा प्रदर्शनरत ‘मोहर’मा पनि मिस पवि केमियोको भूमिकामा रहेको र ‘माग्ने राजा’ मा पनि त्यस्तै भूमिकामा रहेको ती सदस्यले बताए । तर, पाँच सय टेक खाएको हल्ला भने बिल्कूल गलत भएको उनले बताए । त्यो समाचार कसरी बाहिरियो, आफूहरूलाई नै थाहा नभएको उनले बताए ।
भोलिबाट प्रदर्शनमा आउन लागेको ‘माग्ने राजा’ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ चलचित्रसँग भिड्दैछ । दुई चलचित्रसँग भिड्नुपर्ने चुनौतीमा रहेको चलचित्र प्रदर्शनको संघारमा ‘माग्ने राजा’ लफडामा फसेको हो ।
