• Monday 5th of October 2026

त्यो प्रश्नोत्तर जसले एक नर्सलाई मिस नेपाल बनायो


  • धनकुटा खबर
  • .

काठमाडौं । मिस नेपाल अर्थात् नेपालको सर्वाधिक प्रतिष्ठित मानिने सौन्दर्य प्रतियोगिता । सन् १९९४ बाट सुरु भएको यो प्रतियोगिताबाट देशले हरेक वर्ष चार विजेताहरु प्राप्त गर्छ, जसले विभिन्न चार देशहरुमा गई नेपाललाई प्रतिनिधित्व गर्ने गर्छन् । त्यसमध्ये ‘मिस नेपाल वर्ल्ड’लाई मिस नेपाल भनेर प्रचारित गरिन्छ ।

यसपटक पनि ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको यो प्रतियोगिताबाट चार विजेताहरु घोषित भएका छन् । शनिबार ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित यो सौन्दर्य प्रतियोगिताको ३० औं संस्करणको फाइनलबाट सुन्दरी लुना लुइँटेलले ‘मिस नेपाल वल्र्ड २०२५’ को ताज पहिरिइन् ।

त्यस्तै, थर्ड रनर अप भएर सोनी घलेले ‘मिस नेपाल अर्थ’, सेकेन्ड रनर अप भएर उरुसा भण्डारीले ‘मिस नेपाल इन्टरनेसनल’ र फस्र्ट रनर अप भई दीपशिखा नेपालले ‘मिस नेपाल कोस्मो’ को उपाधि हात पारिन् ।

‘मिस कोस्मो’ टाइटल नेपालमा यसपटक पहिलो पल्ट भित्रिएको फ्रेन्चाइज हो । ‘मिस कोस्मो’ २०२३ मा पहिलोपल्ट घोषणा गरिएको थियो, जसको पहिलो संस्करण २०२४ मा भियतनाममा आयोजना गरिएको थियो । नेपालमा भने यसै वर्षबाट यो फ्रेन्चाइज भित्र्याइएको हो।

४ जना मुख्य विजेतासहित प्रतियोगितामा थप १४ जना सब–टाइटलका विजेताहरुलाई पनि सम्मान गरिएको थियो ।

-यसपटक विजेता भएकी मिस नेपाल वल्र्ड लुना लुइँटेल को हुन् ?

टप १२ बाट, फाइनल चार हुँदै विजेता बनेकी लुना लुइँटेल पेशाले नर्स हुन् । नर्सिङ पृष्ठभूमि भएकी लुना हाल अस्ट्रेलियास्थित सिड्नीमा रहेको विश्वविद्यालयबाट ‘पब्लिक हेल्थ’ विषयमा स्नातकोत्तर गर्दैछिन् । उनी सर्टिफाइड स्कुबा डाइभर हुन् । को हुन् लुना भन्नेमा ‘मिस नेपाल’ कै लागि नेपाल आएकी लुनाले अहिले २६ वर्षकि भइन् । उनलाई २०२४ की ‘मिस नेपाल वल्र्ड’ आस्मा कुमारी केसीले ताज पहिर्याइदिएकी थिइन् ।

-फाइनलमा सोधिएको प्रश्न र लुनाको जवाफ यस्तो थियोः

लुनासहित ‘टप फोर’ मा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई फाइनल राउन्डमा एउटै प्रश्न सोधिएको थियो । जुन प्रश्नको उत्तरले लुनालाई ‘मिस नेपाल वल्र्ड २०२५’ बनायो ।

उक्त प्रश्न थियो, ‘यदि तपाईंले सौन्दर्य प्रतियोगिताबारे एउटा धारणा परिवर्तन गर्न सक्नुहुन्थ्यो भने, त्यो के हुन्थ्यो र किन ?’

उनले भनेकी थिइन्, ‘यदि मैले सौन्दर्य प्रतियोगिताको बारेमा एउटा दृष्टिकोण परिवर्तन गर्न सक्थे भने, त्यो हामीले गर्ने हरेक प्रोजेक्ट पछाडिको उद्देश्य देखाउनु हुन्थ्यो । मैले सधैं ‘सिक्ने, कमाउने र फिर्ता हुने’ सिद्धान्तमा विश्वास गरेकी छु ।

मैले अध्यागमनमा नेपाली राहदानीलाई कस्तो व्यवहार गरिन्छ भन्ने प्रत्यक्ष देखेर महसुस गरेकी छु । मलाई यो प्लेटफर्मले सबै नेपाली युवाहरू नेपाल फर्किएर, नेपाललाई नै उत्तम बनाउनु भन्ने आवाज मात्र दिँदैन, यो प्लेटफर्मले मलाई नेपालको युवा साँच्चै नेपाललाई चाहिन्छ भन्ने आवाज दिन्छ । त्यसकारण, यदि म एउटा दृष्टिकोण परिवर्तन गर्न सकें भने, त्यो हामी नेपालीहरूको भित्री सुन्दरता र उद्देश्यको कदर गर्नु हुनेछ । धन्यवाद ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖