• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन्।

यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार राति विज्ञप्ति जारी गर्दै बिहीबार सानामा उच्च तहका हुथी नेताहरु भेला भएको स्थलमा आक्रमण गरिएको जनाएको छ। उक्त भेलामा प्रधानमन्त्री रहावीसहित वरिष्ठ हुथी नेताहरु सहभागी रहेको बताइएको छ।

इजरायली रक्षा मन्त्री इस्रायल काट्जले आक्रमणपछि वक्तव्य जारी गर्दै हुथी नेतृत्वमाथि “अभूतपूर्व प्रहार” गरिएको दाबी गरेका छन्। उनले यसलाई “सुरुआत मात्र” भएको चेतावनी पनि दिए।

यस्तो कठोर आक्रमणबीच यमनका उप–सूचना मन्त्री मोहम्मद मन्सुरले भने, ‘प्रधानमन्त्री रहावी र मन्त्रीहरुको निधन ठूलो क्षति हो तर हामीले देशको रक्षा गर्ने निर्णय गरिसकेका छौँ। हाम्रो गाजाप्रतिको समर्थन नै यमनको सार्वभौमिकता जोगाउने अंश हो।‘

हुथी समूहले सन् २०२३ नोभेम्बरदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। इजरायलले तीमध्ये धेरै अवरोध गरेको छ भने जवाफी रूपमा साना र होडेडाहजस्ता हुथी नियन्त्रणमा रहेका सहरमा आक्रमण गर्दै आएको छ।

सानाका बासिन्दाले प्रधानमन्त्रीको हत्या भएको घटनाले आफूहरुको गाजाप्रतिको समर्थन झन् मजबुत बनाएको बताएका छन्। स्थानीय वासिन्दा अमिन अल–जाफारीले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुको हत्या भएको घटनाले हामीलाई अझै दृढ बनाएको छ। गाजा हाम्रो आत्मा हो, हामी पछि हट्दैनौं।‘

माअिन ओबेद नामक अर्को वासिन्दाले भने, ‘यो पीडादायी छ तर यसले हाम्रो संकल्प तोड्दैन। गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं।‘-सीसीटीभी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖