• Tuesday 6th of October 2026

यी हुन् इजरायलमा ज्यान गुमाउने १० नेपाली


  • धनकुटा खबर
  • .

इजरायलमा भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन्। शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो।

सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन्। अन्य ४ जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्।

सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖