बेइजिङ । उत्तर कोरियाली नेता तथा राष्ट्रपति किम जोङ उन चीनको राजधानी बेइजिङ पुगेका छन् । सैन्य परेडमा सहभागी हुन उनी चीन गएका हुन् ।
बुधबार हुने विजय दिवसमा किमले चिनियाँ राष्ट्रपति सि चिनफिङको साथमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्नेछन् । मंगलबार पुस्तौं पुरानो निजी रेल चढेर किम चीन पुगेका थिए । किम सोमबार प्योङयाङबाट हिँडेका थिए । रेलमा भारी मात्रामा सुरक्षा व्यवस्था राखिँदा किमको रेल अलिक सुस्तरी गुडेकाले चीन पुग्न समय लागेको हो ।
सन् १९५९ यता कुनै चिनियाँ नेता चीनको सैन्य परेडमा सहभागी हुन लागेको यो पहिलो पटक हुनेछ । यस पटकको किमको चीन भ्रमण बहुपक्षीय अन्तर्राष्ट्रिय भेटघाट हुँदै छ । सो दिवसका लागि भनेर म्यानमार, इरान, क्युबासमेत २६ देशका प्रमुखहरू आएका छन् । सन् २०१५ को विजय दिवसमा उत्तर कोरियाले आफ्नो शीर्ष अधिकारी चोई र्योङ हएलाई पठाएको थियो ।
यसअघि किम २०१९ मा चीन पुगेका थिए । यो यात्रा पनि उनले निजी रेलमै गरेका थिए । किमका पिता किम जोङ द्वितीय हवाई यात्रा गर्न निकै डराउँथे । त्यसैले उनी पिताको पालाकै रेलमा हिँड्थे । पिताको कदमलाई पछ्याउँदै किम जोङ उन पनि पुर्खाले यात्रा गर्ने गरेकै रेलमै हिँडिरहेका छन् ।
