धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बारम्बार भावी प्रधानमन्त्री बन्ने आफ्नो इच्छा व्यक्त गर्दै आएका छन्। उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए।
फेसबुकमा स्टाटस लेख्दै देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङले त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका बताएका थिए। तर, जेनजीहरूको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन्। कार्की सिफारिसमा पर्ने भएपछि साम्पाङले आफ्ना समर्थकहरूलाई जंगी अड्डा बाहिर उतारेका छन्।
सोही क्रममा हर्कले सामाजिक सञ्जालमा लेख्दै आफू र बालेन शाहले कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन नगरेको स्पष्ट पारेका छन्। उनले भने, “शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!”
अन्तमा हर्कले थपे, “म आफ्नो रहरले भन्दा युवाहरुको आह्वानमा देश संकटमा परेको बेला निकासका लागि आएको हुँ! युवाको साथ रहे म नेतृत्व गर्न तयार छु!”
