• Tuesday 6th of October 2026

इजरायलमै अस्ताएका कैलालीका नारायणले भनेका थिए, दुई दिनमा तलब आउँछ अनि पैसा पठाइदिन्छु `आमा´


  • धनकुटा खबर
  • .

कैलाली : पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्याैपाने इजरायलमै अस्ताएका छन्।

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ ।

नारायणको परिवार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी कैलाली आएको थियो। न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन्।

नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो। दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याए। सीताबाट एक छोरा छन्।

सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पुरा गर्दै आएकी थिइन्। छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताइन्।

तर, उनलाई नारायण बितेको खबर थाहा छैन्। चार दिन अगाडी छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिन पछि पठाउने कुरा भएको थियो।

आमा सीता न्यौपाने भन्छिन् “ साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिन अगाडी कुरा भएको थियो । दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिन पछि मैले पठाइदिन्छु भनेको थियो ।”

नारायण परिवारका तीन छोरा मध्ये माइला छोरा हुन् । सानै देखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे । नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए ।

महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो ।

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई सुनाउनु भएको थियो । आमा सीताले अरू छोराहरू भन्दा पढाइमा पनि जेहेन्दार, हक्कि स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइनास्ती नगरेको बताए।

सीताले भनिन्, “जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।”

गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाई खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै छन् ।

नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर हुन्। उनलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन ।

“कृषि विषय हो की, भेटनरी पढ्न गएको हो ” हरिकृष्णले भने ।

२५ वर्षीय नारायणले इजरायल जानु भन्दा पहिले छ महिना दार्चुलामा तालिम (ईन्टर्न) गरेका आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖