मुम्बई । अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायले एआईबाट बनाइएका डीपफेक भिडिओलाई लिएर युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्। मिडिया रिपोर्टका अनुसार दम्पतीले अदालतसँग करिब ४ करोड भारतीय रुपैयाँको क्षतिपूर्ति को माग गरेका छन्।
उनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आफ्नो व्यक्तित्व, अनुहार, आवाज र छविको अवैध, आपत्तिजनक र भ्रामक प्रयोगमाथि स्थायी रूपमा रोक लगाउने निर्देशन जारी गर्न पनि अदालतसँग अपिल गरेका छन्।
रोयटर्सको रिपोर्टअनुसार, अभिषेक र ऐश्वर्याले सेप्टेम्बर ६ मा करिब १५०० पृष्ठको याचिका दायर गरेका थिए। याचिकामा सयौँ लिङ्क र स्क्रिनसटहरू समावेश छन्, जसमा युट्युबमा उनीहरूको छवि र आवाजको प्रयोग गरी झूटो, भ्रामक र अपमानजनक सामग्रीहरू रहेको दाबी गरिएको छ।
उनीहरूले यस्ता भिडिओले उनीहरूको प्रतिष्ठामा आँच पुर्याउनुका साथै निजताको मौलिक अधिकार को गम्भीर उल्लङ्घन गरेको बताएका छन्। दिल्ली उच्च अदालतले यस मामिलामा कडा कदम चाल्दै गुगललाई नोटिस जारी गरी लिखित जवाफ माग गरेको छ।
यस मुद्दाको अर्को सुनुवाइ जनवरी १५, २०२६ मा हुनेछ। यसअघि पनि दम्पतीले आफ्नो पर्सनालिटी र पब्लिसिटी राइट्स को सुरक्षाका लागि अदालतमा याचिका दायर गरी राहत पाएका थिए।
