• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एलन मस्क विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने बाटोमा


  • धनकुटा खबर
  • .

वासिङ्टन। विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ। मस्क अहिले विश्वको पहिलो दुई अंकको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन्।

टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो।

यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ।

विश्वका अन्य धनी व्यक्तिहरू

मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन्। तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन्।

मस्कको यात्राः विद्यार्थीदेखि उद्यमीसम्म

पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए। उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे।

त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो। त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे। त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने र कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए।

दुई अंकको खर्बपति बन्ने सम्भावना

विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ। हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ।

मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖