काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को सम्झौतामा फर्किन तयार भएका छन् । यस विषयमा क्यानसँग उनको समझदारी बनिसकेको स्रोतले बताएको छ ।
क्यान स्रोतका अनुसार पछिल्लोपटक सन्दीपले नै सेन्ट्रल कन्ट्र्याक्टमा फर्किने प्रस्ताव गरेका हुन् । हाल ओमानमा रहेका उनी क्यान पदाधिकारीसँग संवादमा रहेका छन् । सेन्ट्रल कन्ट्र्याक्टमा उनलाई समेट्ने विषयमा क्यान पनि सकारात्मक रहेको बुझिएको छ ।
स्रोतले भन्यो, ‘उहाँसित एक किसिमको सहमति भइसकेको छ । तर, यसका लागि केही प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ ।’
सन्दीपले वैशाख २१ गते व्यक्तिगत कारण देखाउँदै आफू क्यानको सेन्ट्रल कन्ट्रायक्टबाट बाहिरिएको घोषणा गरेका थिए ।
त्यसबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सन्दीपले वैशाख २१ गते आफू क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिएको घोषणा गरेका थिए ।
उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’
क्यानको ग्रेडिङमा सन्दीपसहित ५ खेलाडीहरु रहेका थिए । उनले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउँथे । सम्झौताबाट बाहिरिएपछि पनि उनले राष्ट्रिय टिमबाट खेलिरहेका छन् तर पारिश्रमिक पाएका छैनन् । उनले म्याच फि मात्र प्राप्त गर्छन् । ‘ए ग्रेड’ मा उनको स्थान अहिले पनि खाली रहेकाले तत्काल नै सेन्ट्रल कम्ट्र्याक्टमा फर्काउन सकिने क्यान स्रोत बताउँछ । क्यानले औपचारिक निर्णय लिन भने बाँकी छ ।
क्यानले खेलाडीहरुसँग गरेको पछिल्लो सेन्ट्रल कन्ट्र्याक्ट आगामी डिसेम्बरसम्मका लागि हो । त्यसपछि फेरि नयाँ सम्झौता गर्नुपर्ने हुन्छ ।
विश्वकप छनोटभन्दा अघि नेपालले युएइमा वेस्ट इन्डिजसँग तीन म्याचको श्रृंखला खेलेको थियो । पहिलो म्याचअघि सन्दीपले आफ्नो नाम फिर्ता लिएपछि उनले दोस्रो र तेस्रो म्याच पनि खेल्न पाएनन् ।
क्यानले पछि विज्ञप्ति निकाल्दै सन्दीपलाई दुई म्याचमा निलम्बन गरिएको जनाएको थियो । सोपश्चात सन्दीप टिमसँग ओमान प्रस्थान गरेका थिए । हाल नेपालले ओमानमा विश्वकप छनोट खेलिरहँदा सन्दीपले सन्तोषजनक प्रदर्शन गरेका छन् ।
