• Monday 5th of October 2026

कमेडियन कपिल शर्माको नयाँ क्याफेमा तेस्रो पटक गोली प्रहार


  • धनकुटा खबर
  • .

भारतका चर्चित हास्य कलाकार तथा अभिनेता कपिल शर्माले क्यानडामा खोलेको क्याफेमा फेरि हमला भएको छ।

क्यानडाको ब्रिटिस कोलम्बियास्थित सुरे र डेल्टा सहरको सिमानामा पर्ने आवासीय क्षेत्रमा रहेको ‘क्याप्स क्याफे’ मा गत साता फेरि अन्धाधुन्ध गोली चलेको हो।

गोली प्रहारबाट क्याफेको झ्यालका सिसा फुटेका छन्। मानवीय क्षति भने नभएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।
उक्त क्याफे रहेको भवन आवासीय अपार्टमेन्ट हो। त्यस वरपर पनि आवासीय भवनहरू छन्। त्यहाँ ‍कपिल शर्माले जुलाइको पहिलो सातातिर क्याफे उद्घाटन गरेका थिए।

चार महिनामा कपिलको क्याफेमा भएको यो तेस्रो हमला हो।
सबभन्दा पहिले जुलाइ १० मा यहाँ अन्धाधुन्ध गोली प्रहार भएको थियो। त्यो बेला क्याफेका कर्मचारीहरू पनि भित्रै थिए। भौतिक क्षति भए पनि मानवीय क्षति भएन।

त्यस्तै दोस्रो पटक अगस्ट २५ मा हमला भएको थियो। तेस्रो पटक यही अक्टोबर १६ मा हमला भएको हो।

यो हमलाको जिम्मेवारी गोल्डी ढिल्लों र कुलदीप सिद्धूले लिएका छन्। उनीहरू दुवै लरेन्स बिस्नोईका सहयोगी भएको बताइएको छ।

उनीहरूले एक भिडिओमार्फत् यसको जिम्मेवारी लिँदै चेतावनी दिएका छन्। अब पनि कपिलले क्याफे बन्द नगरे उनीहरूले मुम्बईमा हमला गर्ने समेत बताएका हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖