केन्याको क्वालेमा दुर्घटनामा परेको विमानमा सवार ११ जनामध्ये कोही पनि जीवित नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। सुरुमा विमानमा १२ जना रहेको बताइएको थियो।
मृतकहरूमा हङ्गेरीका आठ जना र जर्मनीका दुई जना नागरिक अनि स्थानीय चालक छन्।
तटीय क्वाले काउन्टीमा भएको उक्त दुर्घटनामा विश्वप्रसिद्ध मासई मारा निकुञ्ज जान विमान चढेका यात्रुहरू परेको बताइएको छ।
उक्त विमान तटीय नगर डियानीबाट बिहान सबरै उडेको थियो।
स्थानीय सञ्चारमाध्यमले उक्त विमान भुइँमा खसेपछि आगोको मुस्लो निस्किएको र विमानका भग्नाशेषहरू छरिएको देखिने तस्बिरहरू प्रकाशित गरेका छन्।
केन्याको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनास्थलमा उद्धारक्रमीहरू पुगेका र दु्र्घटनाको कारण पत्ता लगाउन छानबिन थालिएको जनाएको छ।
