• Wednesday 7th of October 2026

शनिबार खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्, बेलाबेला मुर्छा पर्छिन् आमा


  • धनकुटा खबर
  • .

गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्छिन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपीन जोशी शनिबारदेखि सम्पर्कविहीन छन् । ‘शनिबार १२ बजेतिर भाइसँग सम्पर्क हुँदा खाना खाँदैछु भनेको थियो,’ विपिनका दाइ किशोर जोशीले भने, ‘शनिबारपछि भाइसँग सम्पर्क हुन सकिरहेको छैन ।’

कृषि फार्ममा कार्यरत अन्य साथीहरूसँग सम्पर्क भए पनि विपीनसित भने सम्पर्क हुन सकिरहेको छैन । ‘विभिन्न माध्यमबाट प्रयास गर्न खोजे पनि विपीनसित सम्पर्क हुन सकिरहेको छैन,’ जोशीले भने, ‘सरकारले यथाशिघ्र खोजी कार्य गरिदिनुपर्‍यो ।

विपिनका आमावुवा दुवै शिक्षण पेशामा छन् । आमा पदमा जोशी बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा अध्यापनरत छिन् भने बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा पदमा र छोरी पुष्पा मात्रै महेन्द्रनगरस्थित भाषीमा बसोबास गर्छन् ।

इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले इजरायलको छ फार्ममा ४९ विद्यार्थी रहेको जानकारी प्राप्त भएको बताए।

‘टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी इजरायली राजदूतको समन्वयमा पठाएका थियौं,’ रजिष्ट्रार पाठकले भने, ‘१७ जनाको समूह रहेको क्षेत्रमा आक्रमण हुँदा दुःखद् खबर सुन्नु परेको छ ।’

इजरायलको किबुज अलुमिममा रहेका १० विद्यार्थीको निधन भएको छ । चार घाइते विद्यार्थी उपचाररत रहेका एक रोजगारदातासँग र अर्का एक विद्यार्थी प्रहरीसँग सुरक्षित छन् । विपिन भने हालसम्म सम्पर्कविहीन रहेको उनले बताए ।

‘सुरक्षित स्थानमा रहेका विद्यार्थीले स्वदेश फर्किन चाहनुभएको छ । यसका लागि सरकारसँग समन्वय गरिराखेका छौं,’ रजिष्ट्रार पाठकले विश्वविद्यालयले सरकार र दूतावाससँग नियमित सम्पर्क गरिरहेको जानकारी दिँदै भने ।

सुदूरपश्चिम विश्वविद्यालयले गत भदौ अन्तिम साता कृषि सङ्कायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा गरी इजरायल पठाएको थियो। नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा ‘सेडट नेगेभ कलेज’सँगको सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका रजिष्ट्रार पाठकले बताए । रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖