कीएभ । रुसले युक्रेनको ऊर्जा पूर्वाधार र आवासीय क्षेत्रहरूलाई लक्षित गरी सयौँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ। आक्रमणका कारण युक्रेनका धेरै क्षेत्रहरूमा विद्युत् र हिटिङ सेवा अवरुद्ध भएको छ।
ड्निप्रो सहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यसैगरी, जापोरीझियामा तीन जनाले ज्यान गुमाएका छन्। राजधानी कीएभसहित युक्रेनका २५ भन्दा बढी स्थानमा आक्रमण भएको छ।
प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले पोल्टावा, खार्किभ र कीभ क्षेत्रका प्रमुख ऊर्जा सुविधाहरूमा ठूलो क्षति पुगेको जानकारी दिइन्। युक्रेनी वायुसेनाका अनुसार रुसले ४५० भन्दा बढी विस्फोटक ड्रोन र ४५ क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये ४०६ ड्रोन र नौ क्षेप्यास्त्र खसालिएको बताइएको छ।
विगतमा झैँ यस पटक पनि जाडो सुरु हुनुअघि ऊर्जा पूर्वाधारमा आक्रमण गरिएको छ। मन्त्रीहरूले यसको उद्देश्य युक्रेनी जनताको मनोबल कमजोर पार्नुका साथै देशको अर्थतन्त्रलाई नै ठप्प पार्नु रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी ऊर्जामा पश्चिमा देशहरूले लगाएका प्रतिबन्धमा ‘कुनै अपवाद’ नहुनुपर्ने बताएका छन्। यो आक्रमण अमेरिकाले रुसबाट तेल र ग्यास खरिदमा हंगेरीलाई एक वर्षको छुट दिएको केही घण्टापछि नै भएको हो।
