• Wednesday 7th of October 2026

इजरायलमा रहेका विद्यार्थी भन्छन्– हामीलाई यहाँ मर्नु छैन, नेपाल लगिदेऊ!


  • धनकुटा खबर
  • .

युद्धग्रस्त गाजाको सीमा क्षेत्रबाट उद्धार गरी इजिप्टको सिमाना नजिकै राखिएका नेपाली विद्यार्थीले तुरून्तै नेपाल फर्काइदिन अनुनय गरेका छन्।
नेपाल सरकारले उद्धारका लागि कुनै पहल नगरेको र सञ्चार माध्यममा मिटिङ नै मात्रै बसिराखेको सुन्नु परेको गुनासो गरेका छन्।

‘हिजो साँझ हामीसँगै आएका थाइल्यान्डको, कम्बोडियाका १४–१५ जना विद्यार्थीलाईचाहिँ उनीहरूको देशको जहाज आएर उद्धार गरेर लगिसकेको छ। हाम्रो देशकोचाहिँ अहिलेसम्म टुंगो छैन। चार दिन भइसक्यो, मिटिङ बस्दैछौं भनिरहेको । प्राथमिकता केलाई दिने भन्ने नै छैन। मिटिङ त बसेको छ। हाम्रा साथीहरू जुन हामीले गुमायौं, उनीहरूको ज्यानको मूल्य तोक्न बसेको छ,’ उनीहरूले आक्रोश पोख्दै भनेका छन्।

उनीहरू रहेका ठाउँमा इजरायली सैनिकहरूले जमिनबाट आउने आतंककारीलाई होल्ड गर्न सक्ने बताए पनि माथिबाट खस्ने रकेटको त्रास रहेको नेपाली विद्यार्थी लुइस रिजालले बताए।

‘माथिबाट आएको मिसाइल भगवान भरोसा छ। तपाईंहरू साथीहरू जस्तै मर्न पनि सक्नुहुन्छ, बाँच्न पनि सक्नुहुन्छ भनेर यहाँका मानिसहरूले भनिराख्नु भएको छ। माथिबाट खस्ने मिसाइलको जिम्मा चाहिँ तपाईंहरू आफैंले लिनुपर्छ भन्नुहुन्छ। हरेक समयका समयमा चनाखो भएर बस्नुहोला भन्नु भएको छ,’ उनले भिडियो सन्देशमार्फत् भनेका छन्।

दुई दिनअगाडि भोकभोकै रहेको र अहिले खान पाए पनि नेपालको बेवास्ताले पिरोलेको उनले बताए।

‘दूतावासमा फोन गर्दा विमानस्थल खुला छ भन्छ, अब त्यसको लागि पैसा चाहिन्छ, पैसाको जिम्मा कसले लिने भन्ने कुरा आएको छ। पैसा हाल्नुपर्ने भए हामी तयार छौं। सरकारले पैसा हाल्न सक्दैन भने हामी हाल्छौं। आजै साँझभित्र सूचना दिइहाल्नु पर्‍यो,’ रिजालले भनेका छन्।
पाँच दिनदेखि बमको आवाजले आफू त्रस्त बनेको अर्की नेपाली विद्यार्थीले बताएकी छन्।

‘हामीलाई जहिले पनि मानिसिकरूपमा बलियो हौ भन्नुहुन्छ। हामीले शतप्रतिशत दिइसक्यौं। पाँच दिन भइसक्यो। बमको आवाज गर्जेको गर्जियै छ। यो ठाउँ अहिलेको लागि सुरक्षित हो। एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेको हो। अलिक कति बमको आतंक कम छ। तर, हामी पूर्णतः सुरक्षित छैनौं। अब १६ अक्टोबरबाट इजरायलले जहाज उड्न दिँदैन भनेको छ। इजरायलमा रहेका अन्य देशका मानिसलाई भ्याकेसनमा जाऊ भनिसकेको छ। दुई दिन महिना छुट्टिमा बस भनिसकेको छ।हामीलाईचाहिँ नेपाल सरकारले किन लिन आएको छैन। कम्बोडियाका साथीहरू गइसकेँ,’ उनले भनेकी छन्।

अर्की छात्राले इजरायलको भूमिमा बस्नु नै नरहेको बताएकी छन्। ‘हामीलाई यो ठाउँमा बस्नु नै छैन। १० जना साथीहरू गुमाइसकेका छौं। हामीलाई जसरी पनि नेपाल फर्कनुछ। जसरी हुन्छ आफ्नो ठाउँ पुर्‍याइदिनूस्,’ उनले भनेकी छन्।

रिजालले दस जनाजस्तै आफूहरू पनि मरेको हेर्न चाहेको हो भन्दै प्रश्न गरेका छन्। ‘दस जना यहाँ विलीन भएको हेर्न चाहनुहुन्छ भने पत्रमा लेख्नुस्, यहाँबाट इजिप्ट नजिकै पनि छ रे, त्यहाँबाट गएर भए पनि अरू जहाज आउँदा भिख मागेर भए पनि नेपाल आउन सक्छौं। निश्चित निर्णय होस्,’ रिजालले भनेका छन्।

रिजालसँगै त्यहाँ १९ जना नेपाली विद्यार्थी रहेका छन्। उनीहरूलाई सोमबार साँझ उद्धार गरी इजिप्टको सीमा क्षेत्रमा राखिएको उनीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖