काठमाडौँ । लिबियाका अपदस्थ तानाशाह मुअम्मद गद्दाफीका कान्छा छोरा हनिबल गद्दाफीलाई मुद्दा बिना नै जेलमा राखेको लेबनानले करिब १० वर्षपछि रिहा गरेको छ ।
लेबनानी अधिकारीहरूले २०१५ मा ४९ वर्षका हनिबललाई पक्राउ गरेका थिए । उनीमाथि १९७८ मा लिबियामा बेपत्ता पारिएका लेबनानी शिया धर्मगुरुसम्बन्धी जानकारी लुकाएको आरोप लगाइएको थियो ।
रोचक कुरा चाँहिँ के थियो भने त्यतिबेला उनी मात्रै दुई वर्षका थिए । मानव अधिकार समूहहरूले ती आरोपको निन्दा गरेका थिए ।९ लाख डलर जमानत तिरेर हनिबल रिहा भएको उनका वकिल लरेन्ट बायोनले एएफपी समाचार एजेन्सीलाई बताएका छन् ।
रिहाई उनको लागि १० वर्षसम्मको दुःस्वप्नको अन्त्य भएको बायोनले भनेका छन् । अक्टोबरमा, एक न्यायाधीशले गद्दाफीको रिहाइको लागि १ करोड १० लाख डलर तिर्नु पर्ने बताएका थिए ।
तर उनको बचाउ टोलीले अपील गरेपछि गत हप्ता यो रकम घटाइएको बताइएको छ । २०११ मा विद्रोहीहरूले पितालाई अपदस्थ गरेर मारेपछि हनिबल सिरिया भागेका थिए ।
त्यसपछि उनी आफ्नी श्रीमती एलाइन स्काफसँग ओमानमा नजरबन्दमा बसेका थिए । पिताको शासन पतन हुनुअघि हनिबल विलासी जीवनशैलीका लागि चर्चित थिए ।
१९७८ मा शिया धर्मगुरु मुसा अल–सद्रको बेपत्ता हुनु दशकौंदेखि लिबिया र लेबनानबिच तनावको स्रोत बन्यो ।
