• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पसँग नजिकको सम्बन्ध रहेका ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो पक्राउ


  • धनकुटा खबर
  • .

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन्।

शनिबार राजधानी ब्रासिलियास्थित पूर्वराष्ट्रपति बोल्सोनारोकै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

उनीमाथि २०२२ को चुनाव हारेपछि ‘कु’ प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो।

अदालतको उक्त फैसला कार्यान्वयनका लागि बोल्सोनारोलाई पक्राउ गरिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
उनका जेठा छोरा सिनेटर फ्लाभियो बोल्सोनारोले आवास क्षेत्रमा जागरण कार्यक्रम गरेपछि पूर्वराष्ट्रपतिलाई पक्राउ गरिएको हो।

प्रहरीको अनुरोधमा ब्राजिलको सर्वोच्च अदालतले पक्राउ अनुमति दिएको थियो।

यसअघि सर्वोच्च अदालतले बोल्सोनारोलाई नजरबन्दमा राख्न आदेश दिएको छ।

त्यतिबेला पनि सर्वोच्चले तोकेका सर्तको पालना नगरेको भन्दै न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले घरमै नियन्त्रणमा राख्न आदेश दिएका हुन्।
सर्वोच्चले बोल्सोनारो विदेश भाग्न सक्ने भन्दै विदेशी अधिकारीसँग सम्पर्क गर्न, सामाजिक सञ्जाल चलाउन, दूतावासलाई सम्पर्कको प्रयास गर्न पनि रोक लगाएको थियो।

अदालतले बोल्सोनारोको फोन नियन्त्रणमा लिन, वकिल बाहेकसँग भेटघाट गर्न र अदालतको अनुमति प्राप्त व्यक्तिसँग मात्रै भेट्न पाउने आदेश दिएको थियो।

बोल्सोनारोसँग नजिकको सम्बन्ध रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै मुद्दा चलाए ब्राजिललाई ५० प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए।

ट्रम्पले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भालाई पत्र नै लेखेर अगस्ट १ देखि ५० प्रतिशत भन्सार लागू गर्ने चेतावनी दिएका थिए।
उनको त्यो पत्रमा पूर्वराष्ट्रपति बोल्सोनारोमाथि गरिएको व्यवहार अन्तर्राष्ट्रिय अपमान भएको बताएका थिए।

बोल्सोनारो सन् २०२२को निर्वाचनमा लुलासँग पराजित भएका थिए।
तर उनले पनि ट्रम्पले जस्तै राष्ट्रपतिबाट पराजित भएपछि इलेक्ट्रिक भोटिङ मेसिनमा समस्या आएकाले निर्वाचन परिणाम नै त्रुटिपूर्ण रहेको दाबी गरेका थिए।

उनले चुनावमा धाँधली नै भएको आरोप समेत लगाएका थिए।
द न्यूयोर्क टाइम्सका अनुसार ब्राजिलले चीनपछि अमेरिकासँग सबभन्दा धेरै व्यापार गर्ने गरेको छ। ट्रम्पले बोल्सोनारोमाथि लगाइएको अभियोग हटाए भन्सार पनि हटाउने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖